उदयपुरबाट एक वर्षमा नौ हजार युवा रोजगारीका लागि बिदेसिए

 जेठ ३, २०८० बुधबार १६:२५:५४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

उदयपुर – उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि बिदेसिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास कार्यक्रम उदयपुरको तथ्याङ्कअनुसार २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी कार्यक्रम उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।

गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा बिदेसिएका छन् ।

सामी कार्यक्रम उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको सङ्ख्या सबैभन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ रहेका छन् ।

‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरू वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरूले विदेशमा धेरै समस्या झेल्नु परेको थियो’ सामीका संयोजक बस्नेतले भन्नुभयो । 

अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उहाँले बताउनुभयो । 

यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झेल्ने गरेका बस्नेतको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया