कालीकाेटकाे नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज उत्पादन सुरु गर्‍याे

 असार ७, २०८० बिहिबार २०:३५:२२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटकाे नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज उत्पादन सुरु गरेको छ । गाउँमै पाइने लोक्ता सेतवढुको सङ्कलन गरेर कागज उत्पान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । 

नरहरिनाथ गाउँपालिका उद्यम विकास शाखाको दुई लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी नरहरिनाथ–५ मा कागज उद्योग सञ्चालन गरिएको समूहका अध्यक्ष जसमल बोगटीले बताउनुभयो । गएकाे वैशाखमा स्थापना गरेकाे उद्याेगले दुई सयभन्दा बढी ताउ कागज उत्पादन गरेको छ ।

यस पटकको गाउँ सभामा नरहरिनाथ गाउँपालिकाले आफ्नै उत्पादनको नेपाली कागजबाट बनेको झोला र डायरी प्रयोग गर्ने भएको छ ।

झन्डै पाँच फिट अग्लो हुने लोक्ताको बोट काटेर कागज बनाउन प्रयोग गरिन्छ । काटेको बोट पुनः दोस्रो वर्ष धेरै हाँगासहित पलाउने गर्दछ । नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरीसमेत खरिद गरी ल्याइएको समितिका अध्यक्ष बोगटीले बताउनुभयाे । उद्योग सञ्चालनमा आएपछि स्थानीय चार जनाले रोजगारी पाएका छन् । अझै अद्योग सञ्चालनका लागि चाहिने उपकरण अभाव रहेको बोगटीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया