हेवाखोला तर्न तुइन र फड्केको सहारा

 असार १०, २०८० आइतबार ७:५७:४२ | रासस
unn.prixa.net

तस्बिर : रासस

पाँचथर - पाँचथर र ताप्लेजुङ जाेड्ने हेवाखोलामा ओहाेरदाेहाेरका लागि फड्के पुलकाे निर्माण गरिएकाे छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको माेटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि हिजाे फड्के पुलकाे निर्माण गरिएकाे हाे । 

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा बाँसकाे फड्के बनाइएकाे हाे । यसअघि तुइनको माध्यमबाट खोला पार गर्दै आएका यहाँका नागरिकले हिजाेदेखि भने बाँसको फड्केबाट खोला तरिरहेका छन् ।

असार २ गते शनिवार राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक र तमोर करिडोरको बेलीब्रिज बगाएकाे हाे । बाढीका कारण ताप्लेजुङ जिल्ला, पाँचथरकै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जाेड्ने सडक सम्पर्क एक हप्तादेखि टुटेको छ । तर हप्तादिन बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माणकाे काम भने हुनसकेको छैन ।

डाइभर्सनकाे काम पूरा नहुँदा हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासी समस्यामा परेका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । 

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले जतिसक्दाे चाँडाे डाइभर्सनकाे काम सक्नुपर्ने बताउनु भयाे । 'पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो । ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो' उहाँले भन्नुभयाे।  उहाँले ताप्लेजुङमा खाद्यान्नको अभाव हुने भएकाले तत्काल डाइभर्सन र बेलीब्रिज बनाउन आग्रह गर्नुभयाे । 

डाइभर्सन निर्माणका लागि शनिवार आठवटा ह्युमपाइप ल्याइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाले बताउनु भयाे । डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको उहाँले बताउनु भयाे ।

प्राविधिकको सल्लाहबमोजिम १२ वटा ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् । यसअघि पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि भइरहेकाे छ । ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया