आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै काठमाण्डाै महानगर

 असार २७, २०८० बुधबार १९:४३:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दुवै तर्फबाट गाडी आउजाउ गर्दा समस्या आएको भन्दै काठमाण्डाै महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै गाडी सञ्चालन गर्ने तयारी गरेको छ । 

महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्लीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।  

उहाँका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आउँदाे आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले धेरैजसाे ठाउँका जेब्राक्रसिङ मेटिएका अवस्थामा छन् । यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुने हुँदा सडकको मर्मत र थप व्यवस्थित गर्नका लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो ।  

सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको ठाउँमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने महानगरले जनाएको छ । नियमअनुसार आठ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक भने सडक विभागको अधिकारभित्र पर्नेछ ।   

कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक नौ सय ५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आउँदाे आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । कामपाले आउँदाे आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गएकाे आर्थिक वर्षको क्रमागत योजनासहित सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ ।  

यसअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये 'डीपीआर' भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाण्डाै योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि एक अर्ब रुपैयाँ छुट्याएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया