मलेसियाका मानव संशाधनमन्त्री काठमाडौंमा, आज श्रम सम्झौतामा हस्ताक्षर

 कात्तिक १२, २०७५ सोमबार ७:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन काठमाडौं आइपुग्नुभएको छ । आइतबार राती काठमाडौं आइपुगेका उहाँलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले स्वागत गर्नुभयो ।

सोमबार काठमाडौंमा हुने विशेष कार्यक्रममा नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई दिएको छ । 

सम्झौतापछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ । यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । रोजगारदाता देशलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर हुन लागेको श्रम मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिनुभयो । 

श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । नेपाल सरकारले कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै छ महिनादेखि मलेसियामा नेपाली कामदार जान पाएका छैनन् । नेपालबाट रोजगारीका लागि विदेश गएकामध्ये झण्डै ३० प्रतिशत अर्थात ५ लाख जना नेपाली मलेशियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो ।

मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत ७०० मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिँदै आएका थिए ।

बायोमेट्रिक प्रणालीको नाममा प्रतिकामदार रु चार हजार ५००, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी मिग्रामका नाममा रु तीन हजार ४००, राहदानी सङ्कलन गरी नेपालस्थित मलेसियाको दूतावासम्म पुर्याउने प्रयोजनाका लागि वन स्टेप सेन्टर ९ओइससी०को नाममा दुई हजार ८००, इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) को नाममा तीन हजार २०० तथा प्रवेशाज्ञा प्रक्रियाबापत ९भिएलएन०को नाममा तीन हजार २०० गरी प्रतिकामदार १९ हजार ३२३ ९मुअकर० सहित गैरकानूनी रूपमा लिने गरेका थिए ।

पचासको दशकदेखि नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन् । अहिलेसम्म झन्डै ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन् । नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा झन्डै ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली कार्यरत रहेको बताइएको छ । मलेसियामा सबैभन्दा बढी नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् ।

तस्बिर : श्रम मन्त्री गोकर्ण विष्टका प्रेस संयाेजक मदन खनालको फेसबुकबाट 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया