मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइयो

 असार ३०, २०८० शनिबार १२:१०:५ | रासस
unn.prixa.net

मनाङ – हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।

यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । छेटु मेला सकिएपछि मितेरी लगाउने चलन छ । गुफामा पुगेर आमा समूहको सक्रियतामा कार्यक्रम आयोजना गरिन्छ । मरेपछि पनि छिटो भेटिने विश्वासका साथ मितेरी तथा गुफामा पूजाआजा गर्ने चलन रहेको स्थानीय माया गुरुङले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित मिलेरेपा गुफामा लामाले ग्रन्थ पढेर पूजापाठ गरी मितेरी लगाउने गरिएको स्थानीय कर्मा छिरिङ गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन सात गाउँ वा मनाङ ङिस्याङ गाउँपालिकाको सबै वडाका स्थानीयको सहभागितामा पर्व मनाइँदै आएको छ । छेटुमा मेला हेर्न र मितेरी गाँस्नका लागि जिल्लावासीको उल्लेख्य सहभागिता रहने गरेको छ ।

नाचगानसहित यो पर्व मनाउने चलन रहेको छ । गुफामा नाचगानसहित लामाले ग्रन्थ वाचन गरी लुगाकपडालाई पुजेर सकाएपछि मितेरी लगाउने कार्य प्रारम्भ हुने गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “लामाले पुजा सकाएपछि पुज्न राखेको दुई जनाको कपडा उचाल्दा जसको कपडा भागमा पर्छ, उसैसँग छेटु वा मितेरी लगाउने गरिन्छ ।” भगवानलाई पुजेर नै मितेरी गाँसेर एकापसको सम्बन्ध जोडिन्छ । यसरी मितेरी साइनो गाँसिदा सम्बन्धमा प्रगाढता कायम रहने उनीहरुको विश्वास छ ।

मित्रताको प्रतीकका रुपमा मिलेरेपा गुफालाई लिइन्छ । परापूर्वकालमा राजाले सिकार खेल्दै जाँदा मिलेरेपासँग भेट भएर हत्या, हिंसाको अन्त्य गर्न सफल भएको किंवदन्ती छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया