सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्तरूपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाण्डाै विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले मङ्गलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्तरूपमा अध्यापन गराइने छ ।
काठमाण्डाै विश्वविद्यालयका उपकुलपति प्रा. डा. थापाले मधेस प्रदेश सरकारद्वारा गएकाे वर्ष स्थापित मधेस विश्वविद्यालयसँगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मधेस विश्वविद्यालयका उपकुलपति डा. शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाण्डाै विश्वविद्यालयसँगको सहकार्यले आउँदा दिनमा मधेस विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित गर्ने बताउनुभयो ।
काठमाण्डाै विश्वविद्यालयले यसअघि गण्डकी र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग पनि संयुक्तरूपमा अध्यापनका लागि सहकार्य गरिसकेको छ । काठमाण्डाै विश्वविद्यालयले अस्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालय, अमेरिकाको जर्ज मेसन विश्वविद्यालय र भारतको आईआईटी मद्राससँग समेत सहकार्य गरिसकेको छ ।
सम्झौताअनुसार विद्यार्थीले स्नातकोत्तर तहमा तीन सेमेस्टर भर्ना भएको विश्वविद्यालय र बाँकी एक सेमेस्टर र सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न सक्नेछन् । यसका लागि दुवै विश्वविद्यालयले पाठ्यक्रम निर्माणदेखि अन्य विषय आपसी सहमतिमा तय गर्ने सहमति गरेका छन् ।
यसैगरी विद्यार्थीको प्रमाणपत्रमा दुवै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुवै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्नेछ । यसबाट विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्नाका साथै कम शुल्कमा विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने काठमाण्डाै विश्वविद्यालयको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।