ओडारमा बस्दै आएका राहुलको उद्धार

 साउन १०, २०८० बुधबार २०:३९:५२ | रासस
unn.prixa.net

म्याग्दी – बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज बुधवार उद्धार गरिएको छ ।  बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बाग्लुङ शाखामा लगिएको जानकारी दिनुभयो । 

‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो’, उहाँले भन्नुभयो, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनःस्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’

शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई उपमेयर लामिछाने र नगर प्रहरीको टोलीले उद्धार गरेको थियो । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलको बारेमा २०७९ साल फागुन ८ गते समाचार सार्वजनिक भएको थियो । 

‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, राहुलले भन्नुभयो, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नुपरेको हो ।’ उहाँले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको थियो । 

कुरीलाखर्कको ओडर बेनीबजारदेखि झन्डै एक किलोमिटर नजिकको दुरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताउनुभयो । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो’, उहाँले भन्नुभयो, ‘काम गर्न सक्दिनँ, मलाई यहीँ ठिक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।’ 

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • वीरेन्द्र देव पुरी

    July 26, 2023, 9:20 p.m.

    पारिस्थिकीय मानवको निरिहता,,, उद्धार गरि मानविय कर्तब्य र दायित्व निर्वाह गर्ने नगरपालिकामेयर ज्युलाइ आभार ब्यक्त गर्द छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया