राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

 भदौ २, २०८० शनिबार १९:४५:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजार रुपैयाँ सहित खरेल र प्रधान पुरस्कृत हुनुभएको हो ।

अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित हुनुभएको छ भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष गीता खत्री, निर्वतमान अध्यक्ष प्रकाश पौडेल माइलालाई कदरपत्र प्रदान गरिएको छ ।

अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा देवी नेपाल, बलराम दाहाललगायत सम्मानित हुनुभएको छ । रमेश दाहाल, नेपाल संस्कृत विश्वविद्यालय, ठाडो भाका लोककला प्रतिष्ठान, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ । त्यस्तै अनेसास डायस्पोरा सम्मानबाट प्रगति राई सम्मानित हुनुभएको छ ।

कार्यक्रममा नेपाली साहित्यको प्रवर्द्धन, विस्तारमा अनेसासको भूमिका महत्त्वपूर्ण रहँदै आएको वरिष्ठ साहित्यकार प्रा डा बासुदेव त्रिपाठीले बताउनुभयो । ‘विश्वमा प्रतिष्ठित, गौरवमय नेपाली भाषा विश्वव्यापीरूपमा छरिएर रहेका नेपालीलाई नेपाली कला, साहित्य, संस्कृति, सभ्यतासँग जोड्न अनेसासको मञ्च गरिमापूर्ण रहेको छ,’ उहाँले भन्नुभयो ।

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट सम्मानित खरेलले संसारभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम नेपाली भाषा रहेको बताउनुभयो । रुखको जरासरह आफ्नो मातृभाषाको महत्त्व हुनाले अनेसासले यसको संरक्षणको निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । अनेसासका सल्लाहकार प्रतीक ढकालले अबको नेतृत्व साहित्य क्षेत्रमा मात्र अब्बल नभइ एउटा आमाको दायित्व निर्वाह गर्न सक्ने चयन हुनुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख खगेन्द्रप्रसाद लुइँटेलले अनेसासको नेतृत्व राजनीतिक पहुँच, गुटका आधारमा चयन  नभइ स्वच्छ, निष्पक्ष र तटस्थ हुनुपर्ने बताउँदै नेपाली भाषा, साहित्यको प्रवर्द्धन गर्ने नेतृत्वलाई विभागले साथ दिने बताउनुभयो ।

त्यस्तै अनेसासका अध्यक्ष सन्ध्या पहाडीले जहाँ–जहाँ नेपाली त्यहाँ नेपाली कला संस्कृति जगाउने गरी च्याप्टरले तीन दशकदेखि विश्वव्यापीरूपमा भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा अनेसासका आजीवन सदस्य लेखक ध्रुव खनालको ‘नयनको बस्ती कथा सङ्ग्रह पुस्तक लोकार्पण भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया