गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह

 भदौ २०, २०८० बुधबार ८:२६:३७ | भावुक योगी
unn.prixa.net

बर्दिया – गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ ।

गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्‍याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको चरा विज्ञ रामबहादुर शाहीले बताउनुभयो ।

गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात नेपाली रुपैँया एक लाख ४५ हजार दुई सय बरारबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।

पशु चौपायको उपचारमा डाइक्लोफेनाक सोडियमको प्रयोगले गिद्धहरुको विनास हुने भएकाले डाइक्लाफेनाक प्रयोग पूर्णरुपमा प्रतिबन्ध गरी गिद्ध तथा वातावरणलाई पूर्ण रुपमा फाइदा पुर्‍याउनका लागि आग्रह गरिएको छ ।

गिद्धका बासस्थान सिमल, साजलगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेट्न सक्ने खुला ठाँउमा फाल्न बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवम् चरा विज्ञ शाहीले आग्रह गर्नुभयो ।

विगतका वर्षको तुलनामा गिद्धको संख्या क्रमिक रुपमा वृद्धि भइरहेको बर्दिया प्रकृति संरक्षण क्लबले जनाएको छ । पछिल्लो समय गिद्ध लोप हुनुमा आहराको कमी, जनचेतनाको कमी र मरेको सिनोमा समेत विषादी प्रयोग गर्नुले गिद्ध संरक्षणमा चुनौती थपिएको छ ।

१५ ‍‌औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस बर्दियाको ठाकुद्वारामा विविध कार्यक्रम गरी हिजो मनाइएको छ । बर्दिया प्रकृति संरक्षण क्लबको आयोजना तथा नेपाल पक्षी संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायत विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा कार्यक्रम गरी मनाइएको हो ।

गिद्ध सचेतना दिवस हरेक वर्ष सेप्टेम्बर पहिलो हप्ता अर्थात भदाै महिनामा मनाइन्छ । गिद्ध सचेतना कार्यक्रममा गिद्धको अवलोकनका क्रममा ४७ प्रजातिका तीन सय चार वटा चरा अवलोकन गरिएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवम् वरिष्ठ प्रकृति पथ प्रर्दशक चरा विज्ञ शाहीले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया