कालीकाेटकाे मान्म बजारबाट आमाछाेरा बेपत्ता

 भदौ २२, २०८० शुक्रबार १८:४८:३७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्म बजारबाट चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । दानबहादुर शाहीकी कान्छी श्रीमती गीताकुमारी जैसी शाही र चार वर्षका छोरा टेकेन्द्र मान्म नावगैरामा बस्ने कोठाबाट गए रातिदेखि बेपत्ता भएका हुन् ।

१५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले पाँच वर्षअघि कान्छी श्रीमतीको रूपमा बिहे गरेर छोरा जन्माएपछि पारिवारिक हिंसा बढ्दै गएर गीता अलग बस्दै आएकी थिइन् । उनले श्रीमानसँगको झगडापछि कालीकोट जिल्ला अदालतमा अंश मुद्दासमेत दायर गरेकी थिइन् । उनका माइती पक्षले महिलाका श्रीमानले नै आमाछोरालाई बेपत्ता बनाएको भन्दै प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 

आमा छाेरा बेपत्ता भएको खबर प्राप्त भएलगत्तै खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले बताउनुभयाे । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौँ उखेलिएको अवस्थामा भेटिएको छ । बेपत्ता भएकी गीताकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको उहाँले जानकारी दिनुभयाे ।

मान्म बजारमा 'शाहीजी इलेक्ट्रोनिक्स' सञ्चालन गर्दै आएका दानबहादुरकाे पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौँ उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काेठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसी धमलाकाे दाबी छ ।

दुई हप्ताअघि दानबहादुरले म्यासेन्जमा गीताका बुबाको पनि आफैँले मान्छे लगाएर भिरबाट धकेल्न लगाई हत्या गरेको र आफूलाई बढी अन्याय गरे गीता र छोरालाई पनी मारिदिने भनेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दानबहादुरकी जेठी श्रीमती रञ्जनाले भने श्रीमानकाे फेसबुक गीता आफैँले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै गीता र उनकाे छाेरालाई मार्ने धम्की दिइएको थियो । म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखिएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया