राजमार्गमा बिग्रिएर राेकिराखेका गाडीहरू एक घण्टाभित्रै हटाउने निर्णय

 भदौ २५, २०८० सोमबार २०:५५:४८ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया – पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगन्जमा गएको  शुक्रवार राति राेकिराखेकाे ट्रकमा बस ठाेक्किएर दुर्घटना हुँदा सात जनाको ज्यान गयाे भने २९ जना घाइते भए ।

बर्दियाकाे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराकाे बेतहनी सामुदायिक वन उपभोक्ता समूहकाे टाेली दाङ भ्रमणबाट फर्किँदै गरेकाे ना ७ ख २३२१ नम्बरकाे बस शमशेरगन्ज नजिक राजमार्गमा राेकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठाेक्किएर दुर्घटना भएकाे थियाे । दुर्घटनामा एउटै वडाका पाँच जना र चालक, सहचालकसहित सात जनाकाे ज्यान गएको हाे । यस्तै घाइते २९ मध्ये २१ जनाकाे काेहलपुर र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाकाे अवस्था अझै गम्भीर छ, उनीहरूमध्ये एक जनाकाे काठमाण्डाैमा, दुई जनाकाे काेहलपुरमा र दुई जनाकाे नेपालगञ्जमा उपचार भइरहेकाे छ ।

यसअघि २०७८ कात्तिक २४ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेकाे राप्ती साेनारी गाउँपालिका–२ मा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेकिँदा ठाकुरबाबाका दाजुभाईकाे ज्यान गएको थियाे । त्याे दुर्घटनामा ठाकुरबाबा–३ नेउलापुरका २२ वर्षीय आशिष थारु र १९ वर्षीय साैरभ थारुकाे ज्यान गएकाे थियो । राजमार्गमा राेकिराखेकाे ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम आउँदै गरेकाे ना ५५ प ९७५६ काे माेटरसाइकल ठाेकिएकाे थियाे ।

त्यति बेला व्यस्त सडकमा सङ्केतविना बिग्रेकाे ट्रक राख्नाले दुई जनाकाे ज्यान गएकाे भन्दै पीडित पक्षले दिएकाे मुद्दा अदालतले जिल्ला प्रशासनमा पठाएको थियाे । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पीडितका पक्षमा बाेल्दै व्यस्त सडकमा बिग्रिएका गाडीहरू गाडी धनी र ट्राफिकले तत्काल हटाउनुपर्ने विषयमा पहल थाल्न शुरुवात गर्नुभएको थियाे तर उहाँ सरुवा भएसँगै त्याे अभियान शुरु हुन सकेन ।

यसैबीच गएकाे शुक्रवार भएकाे दुर्घटनाकाे तीन दिनपछि इलाका प्रहरी कार्यालय काेहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले आज साेमवार सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयाेजना गर्नुभएकाे छ । डीएसपी तिवारीले ट्राफिक प्रहरी, गाडी समिति, गाडी धनी, चालक, बाँके राष्ट्रिय निकुञ्जसहितका सराेकारवाला पक्षसँग अन्तरक्रिया गर्नुभएकाे हाे । 

अन्तरक्रियामा अति व्यस्त राजमार्गमा बिग्रिएर राेकिराखेका गाडीहरू एक घण्टाभित्रै हटाउने निर्णय भएकाे छ । यात्राको क्रममा गाडी बिग्रिएको खण्डमा यथासम्भव मूल सडकभन्दा बाहिर पार्किङ गरी मर्मत गर्नुपर्ने, सडकमा राखेर मर्मत गर्नुपर्ने विकल्प नरहेको अवस्थामा अनिवार्यरूपमा गाडीको अगाडि र पछाडि टल्किने अथवा सहजै थाहा पाउन सकिने सावधान लेखेर र देखिने सङ्केत राख्नुपर्ने निर्णय भएकाे हाे ।

‘मर्मतका लागि एक घण्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित गाडी धनी पक्ष वा व्यवसायी पक्षबाट बेहाेर्ने गरी गाडी जसरी पनि सुरक्षित ठाउँमा लैजानुपर्नेछ’, निर्णयमा भनिएकाे छ ।

अन्तरक्रियामा राजमार्ग क्षेत्र र विशेषगरी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहर विसर्जन नगर्ने सम्बन्धमा यसअघि भएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि भएकाे छ । यस्तै बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रकाे लोक मार्ग खण्डमा निर्धारित अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा रहेकोले सबै चालकले अनिवार्यरूपमा पालना गर्नुपर्ने र याे सडक खण्डमा 'टाइम कार्ड' लागू गर्नका लागि थप छलफल गर्ने निर्णय भएकाे छ ।

इलाका प्रहरी कार्यालय काेहलपुरका डीएसपी सुन्दर तिवारीले काेहलपुरदेखि कुसुम क्षेत्रसहितका सडकमा कहीँ कतै पनि बिग्रिएकाे अवस्थामा गाडी नराख्नका लागि प्रहरीले निगरानी गर्ने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया