बर्दियाको ठाकुरबाबा नगरअस्पताललाई सर्पदंश उपचारको अनुमति

 भदौ २७, २०८० बुधबार १२:५८:३० | भावुक योगी
unn.prixa.net

बर्दिया – स्वास्थ्य मन्त्रालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको आधारभूत नगरअस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले ठाकुरबाबा नगरपालिकामा सञ्चालित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

विषालु सर्पको डसाइबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका ठाकुरबाबा नगरपालिकासहितका पालिकाका गाउँगाउँमा वर्षेनी धेरै जना घाइते हुने र अस्पताल टाढा हुँदा समयमै उपचार नपाएर ज्यान जाने अवस्था रहेकोमा अब आधारभूत नगर अस्पतालबाट सर्पदंशको उपचार शुरुवात भएपछि नगरवासीलाई सहजता हुने मेयर तिलकराम लम्सालले बताउनुभयो । 

स्वास्थ्य सेवा विभागले स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशलाई जानकारी गराउँदै ठाकुरबाबा आधारभूत नगर अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको मेयर लम्सालले बताउनुभयो । 

एमबिबिएस डाक्टरसहित चौबिसै घण्टा सेवा दिन शुरु गरेको ठाकुरबाबा आधारभूत नगर अस्पताल भुरिगाउँले सर्पदंश उपचार केन्द्र सञ्चालनको लागि अनुमति पाएसँगै अब केही दिनमा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक थप पूर्वाधार तयार गरी सेवा शुरु गरिने मेयर लम्सालले बताउनुभयो ।

विगत ३ वर्ष अघिदेखि नगरपालिकाको वडा नम्बर ३ नेउलापुर गाउँमा झण्डै २ बिगाह क्षेत्रफल रहेको जग्गामा १५ शय्याको नगर अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । झन्डै ६ महिनामा संरचना निर्माणकार्य सकिने नगरपालिकाले जनाएको छ ।

यसअघि ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा पर्ने निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको पूर्व पश्चिम राजमार्गको सैनवार चेक पोष्टमा सर्पदंश उपचार भइरहे पनि बेलाबेला स्नेक भाइल अभाव हुँदा सर्पले डसेका बिरामीलाई भेरी अस्पताल नेपालगञ्ज लैजानु पर्ने बाध्यता रहेको थियो।

अन्तिम अपडेट: बैशाख १५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया