विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबामा मनाइने, विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गरिने

 भदौ २८, २०८० बिहिबार १९:१०:५० | भावुक योगी
unn.prixa.net

बर्दिया – यही असाेज १० गते विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) बर्दियाको ठाकुरबाबा नगरपालिकामा मनाइने भएको छ ।

आज बिहीवारकाे बैठकले पर्यटन विकास परिषद् प्रवर्धक तथा ठाकुरबाबा नगर मूल समारोह समितिकाे आयाेजनामा असोज १० गते पर्यटकीय क्षेत्र ठाकुरबाबामा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेकाे नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो । विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीसहितकाे सहभागितामा बर्दियाका प्रमुख पर्यटकीय गतिविधिका बारेमा जानकारी दिँदै दिवस मनाइने ठाकुरबाबाका मेयर लम्सालले बताउनुभयो । विभिन्न पर्यटकीय गतिविधिका साथ दिवस मनाउने कार्यक्रम गर्न उपसमितिसमेत गठन गरी कार्य विभाजन गरिएको छ ।

'ल्यान्ड अफ टाइगर' (बाघकाे भूमि) बर्दिया जाउँ, पर्यटन गतिविधिसँगै प्रकृति र संस्कृतिमा रमाऔँ, विश्व पर्यटन दिवस २०८० भव्यरूपमा सफल पाराैँ भन्ने नारासहित विश्व पर्यटन दिवस मनाइने भएकाे हाे । यस अवसरमा ठाकुरबाबाका पर्यटकीय हाेटलहरूमा असोज महिनाभरि आरामदायी आवासमा २५ प्रतिशत छुट दिँदै प्रकृति र संस्कृतिकाे आनन्द लिन अनुरोध गरिएको छ ।

बर्दियामा बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसँगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतिसँगै हाेमस्टेहरूमा स्थानीय परिकार खान पाइन्छ । यस्तै ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्जभित्र जङ्गल वाक, जीप सफारी, र्‍याफ्टिङ, क्याम्प्ङि, फिसिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमा रमाउन सकिन्छ ।

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय ठाउँ, बर्दिया जाउँ, वन्यजन्तु र प्राकृतिक सौन्दर्यको आनन्दसँगै सांस्कृतिक नाचगानमा रमाऔँ भन्दै दिवसका लागि सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिअन्तर्गत झाँकी प्रदर्शन, स्थानीयस्तरका राष्ट्रिय कलाकारलाई समेत आह्वान गरिने निर्णय भएको छ ।

यसैगरी पर्यटन क्रियाकलाप उपसमितिअन्तर्गत चित्र चिन्ने प्रतियोगिता, जीप सफारी, हात्तीबाट गज परिक्रमा, ऐतिहासिक ठाकुरद्वारा मन्दिरकाे महाआरती, स्लो साइक्लिङ रेस, निकुञ्ज परिसर अवलोकनका साथै स्थानीयस्तरमा बर्दिया घुम्न जाउँ भन्ने खालकाे सामाजिक सञ्जालका लागि चार वटा विधामा भिडियो प्रतियोगिता पनि समावेश गरिएको छ ।

बैठकमा विभिन्न प्रस्तावमाथि छलफल गरी विश्व पर्यटन दिवस मनाउनका लागि लाग्ने अनुमानित बजेट लागत विवरणसमेत तयार पारिएको छ । ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लाभरका पर्यटकीय गतिविधिका बारेमा जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मनाउन लागिएको विश्व पर्यटन दिवसका लागि झन्डै १६ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले दिवसका अवसरमा गरिने पर्यटकीय गतिविधिका बारेमा गरिने सन्देशमूलक कार्यले नगरपालिकासहित बर्दियालाई चिनाउने ठूलो अवसर रहेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गर्नुभयो ।

यस्तै केन्द्रीयस्तरका केही सञ्चारमाध्यम र बर्दियासहित छिमेकी जिल्लाका सञ्चारमध्यमहरूबाट पनि बर्दियाका प्रमुख पर्यटकीय गतिविधि समेटिएका सन्देशमुलक सूचना प्रसारण, प्रकाशनका साथै ब्राेसर, पाेस्टर, पम्प्लेट, भिडियो डकुमेन्ट्री, सामाजिक सञ्जालमासमेत सूचना दिई आन्तरिक पर्यटक बढाउने खालका प्रचारप्रसार गरिने हाेटल सङ्घ बर्दियाका अध्यक्ष एवम् प्रचारप्रसार उपसमितिका संयाेजक माेहनलाल चाैधरीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया