राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति

 असोज ७, २०८० आइतबार १५:४६:२२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणले बनाइरहेकाे ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ सालमा याे आयोजनाकाे निर्माण शुरु भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ सालमा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारूपमा याे आयोजनाकाे काम अघि बढाइएको थियो ।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २०७० सालमा निर्माण सकिनुपर्ने थियो । विसं २०७४ मङ्सिरमा सम्पन्न गर्ने गरी छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी) ले पनि निर्धारित समयभित्र आयोजना बनाउन सकेको छैन ।

आयोजनाका व्यवस्थापक राज विष्टले अहिलेसम्म समग्रमा ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । ‘४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो’, उहाँले भन्नुभयो, ‘कोरोना महामारी र विपद्का कारण ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।’

पुरानो ठेकेदार आईभीआरसीएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न शुरु गरेको जेपी कम्पनीले अहिलेसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, छ सय ५४ मिटर लामो चार वटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र एक सय ९६ मिटर ठाडो सुरुङ निर्माण गरिसकेको छ । अडिट एकबाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ ।

छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङमध्ये अहिलेसम्म पाँच हजार एक सय ६२ मिटर निर्माण सकिएको छ । एक हजार एक सय आठ मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माण स्थलमा अडिट एक, अधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नम्बर चार खन्ने काम सकेर ती अडिटहरूबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युत् गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।

घुमाउने तालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युत् गृह निर्माणले निरन्तरता पाएको आयोजनाका व्यवस्थापक गणेश केसीले बताउनुभयो ।

प्राकृतिक विपद्, कोरोना भाइरसको महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउनुलाई ठेकेदारले ढिलाइको कारण भएको जनाएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत् गृहका उपकरण आयात गर्न थालेको छ ।

भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । याे आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न 'लुप इन लुप आउट' को चार टावर तयार भएको छ ।

केही दिनअघि आयोजना निरीक्षण गर्नुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीसँग आयोजनाका अधिकारीहरूले नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्यमा असर पर्न थालेको जानकारी गराएका थिए । सर्वोच्च अदालतले विसं २०७८ असारमा कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी गर्न रोक लगाएको थियो ।

मन्त्री जुग्जालीले राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले म्याग्दी जिल्लालाई मात्र नभएर समग्र देशलाई नै नोक्सानी भएको बताउनुभयो । वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उहाँले थप भएको आउँदाे एक वर्षभित्र नै आयोजना सञ्चालन हुने वातावरण बनाउन आयोजना, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया