'सिलिङ' उडान नहुँदा लुक्लाको विद्युत् सामग्री ३ महिनादेखि फाप्लुमै राेकियाे

 असोज ७, २०८० आइतबार २०:१३:४५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको विद्युत् सामग्री तीन महिनादेखि फाप्लुमा रोकिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै ती सामग्री तीन महिनादेखि फाप्लु विमानस्थलमै रोकिएको हो । काठमाण्डौबाट ल्याइएको विद्युत् सामग्रीमध्ये साना सामान जहाजमार्फत लुक्ला लगिएको छ भने हेलिकप्टरमा 'सिलिङ' गरेर लैजानुपर्ने ठूला सामान भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताउनुभयो । 

उहाँका अनुसार विद्युतको टरबाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार समग्री फाप्लु विमानस्थलमै थन्किएका छन् । सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ । लुक्ला क्षेत्रका झन्डै चार सय ५० घरधुरीका लागि याे आयोजनाले झन्डै १६ वर्ष अघिदेखि दुई वटा विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै थियाे । अहिले विद्युत् गृहकाे मुख्य 'मेशिन' नै बिग्रिएपछि सानो 'मेशिन' बाट उत्पादित विद्युत् मात्रै वितरण गरिँदै आएको विद्युत् उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । जसका कारण लुक्लामा अहिले दैनिक तीन घण्टासम्म 'लोडशेडिङ' हुने गरेको बताइएको छ ।

सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता छ । सामग्री ढुवानीका लागि हेलिकप्टरकै भर पर्नुपरेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले गुनासाे गर्नुभयाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमदेखि हेलिकप्टरलाई 'सिलिङ' उडानको अनुमति दिने बताएको छ । गएकाे असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।

गाउँपालिकाले प्राधिकरणलाई पठाएकाे पत्र–

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया