महिलाकाे रहस्यमय मृत्यु भएकाे भन्दै आफन्तले छानबिनकाे माग गरे

 असोज ७, २०८० आइतबार २०:३७:५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकोटमा एक महिलाको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले छानबिनको माग गरेका छन् ।

घरेलु हिंसा भोग्दै आएकी सान्नीत्रिवेणी गाउँपालिका–१ लुसा माइतीघर भएकी गीता जैसीको संरक्षणका लागि राखिएको ठाउँमा मृत्यु भएको हो । उहाँलाई पछिल्लो समय सोसेक नेपाल गैरसरकारी संस्थाको संरक्षणमा राखिएकोमा आज आइतवार बिहान त्यही संस्थाको शौचालयमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हिजो शनिवार कार्यालयमा गएर गीतालाई प्रहरीले नै मानसिक तनाव दिएका कारणले उहाँँले आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले शनिवार जैसीलाई कार्यालयमा ल्याएर म्यासेजका बारेमा सोधपुछ गरेको बताउनुभयो ।

दैलेखकाे भगवतीमाई गाउँपालिका–५ कट्टी स्थायी घर भई अहिले कालीकोटकाे सदरमुकाम मान्ममा बस्दै आएका दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरा जन्मिएपछि कान्छी श्रीमतीका रूपमा स्वीकार गरेका थिए । २०७५ सालमा छोरा जन्मेसँगै दानबहादुरले गीतालाई हिंसा गर्दै आएका थिए । दानबहादुर र उनकी जेठी श्रीमतीले हिंसा गरेकाे भन्दै गीता धेरै पटक प्रहरी कार्यालय पुग्नुभएकाे थियाे ।प्रहरी कार्यालय पुगेर पनि न्याय नपाएपछि थप हिंसा भोग्दै आएकी उहाँकाे जिल्ला आदालतमा सम्बन्धविच्छेद र अंशबन्डाकाे मुद्दा चलिरहेको छ ।

मुद्दाकाे तारेख दिन गएका बेला दुई सौताबीच हात हालाहाल भएपछि दानबहादुरकी जेठी श्रीमती रन्जनामाथि गीताले लुटपाट तथा हातपात गरेको मुद्दा दर्ता गराउनुभएकाे थियाे । आफ्नो नाममा मुद्दा हालेको भन्दै दानबहादुरले गीतालाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । आफन्तको संरक्षणमा रहेकी जैसीलाई र उनको छोरालाई समेत मार्ने 'म्यासेज' गरेपछि दानबहादुर केही दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए । शाही छुटेको तीन दिनपछि गीतालाई प्रहरीले बयानका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर राति सोसेक नेपालको कार्यालयमा राखेको थियो ।

गीतालाई दानबहादुरले ‘तेरो बुबाको हत्या मैले गर्न लगाएको हुँ, तेरो पनि त्यही हालत गर्छु’ भन्दै म्यासेज लेखेको थिए । याे विषय अहिले प्रहरीको अनुसन्धानमा रहेको छ ।

सान्नीत्रिवेणी–१ लुसाका ५५ वर्षीय धनिराम जैसी (गीताका बुवा) काे २०७७ भदौ २८ गते ज्यान गएकाे थियो । दानबहादुर ‘मैले केटा प्रयोग गरी धनिरामलाई मारेको हाे’ भनेर गीतालाई म्यासेज गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया