साेलुखुम्बुकाे लुक्ला माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा अलपत्र

 असोज ८, २०८० सोमबार ११:०:३३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै यी सामग्रीहरु ३ महिनादेखि फाप्लु एअरपोर्टमै रोकिएको हो ।

काठमाण्डौबाट ल्याइएको विद्युत् सामग्रीहरुमध्ये सानो सामानहरु जहाजमार्फत् लुक्ला लगिएको छ भने हेलिकप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठूला सामग्रीहरु भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताउनुभयो । उहाँका अनुसार विद्युतको टर्वाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार सामग्रीहरु फाप्लु एअरपोर्टमै थन्किएका छन् ।

सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ ।

लुक्ला क्षेत्रका झण्डै ४५० घरधुरीका लागि यो आयोजनाले दुई वटा विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै आएको करिब १६ वर्षअघि स्थापना गरेको विद्युतमा खराबी आएका कारण मुख्य मेसिन नै परिवर्तन गरिएको बताइएको छ ।

मुख्य विद्युत् मेसिन बन्द भएपछि लुक्लामा सानो मेसिनबाट उत्पादित विद्युत् मात्रै वितरण गरिँदै आएको वडाध्यक्ष समेत रहनुभएका विद्युत् उपभोक्ता समिति अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो । जसका कारण लुक्लामा अहिले दैनिक ३ घण्टासम्म लोडसेडिङ हुने गरेको बताइएको छ ।

सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गाडी पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामग्री ढुवानीमा हेलिकप्टरकै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले बताउनुभयो । जसका कारण लुक्लाका नागरिकहरु आक्रोसित रहेको उहाँको भनाइ छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ ।

गएकाे असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत् हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया