भारतीय बाटाे हुँदै बजार पुग्याे दार्चुलाकाे बुदीमा फलेकाे स्याउ

 कात्तिक २, २०८० बिहिबार २०:१०:१६ | ललित सामन्त
unn.prixa.net

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ बुदीमा फलेको स्याउ बजारमा पुगेको छ । कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा फलाएको स्याउलाई जिल्ला सदरमुकाम खलङ्गाको बजारमा पुर्‍याएपछि अहिले बिक्री भइरहेको छ ।

नेपालतिर बाटो नभएपछि भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा पुर्‍याइएकाे स्याउ बिक्री भइरहेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताउनुभयाे । चार वर्षअघि लगाएको गालाफुजी रेड डेलिसियस जातको स्याउले फल दिन थालेपछि भारतीय सडक मार्ग हुँदै खलङ्गा पुर्‍याइएकाे उहाँले बताउनुभयो ।

अहिले फलेको स्याउको स्वाद र उत्पादन राम्रो रहेको छ । यो वर्षमात्रै बुदीको कालापानी फर्ममा ४० क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । यीमध्ये १५ क्विन्टल जति स्याउ जङ्गली जनावर र चराचुरुङ्गीले नोक्सान गरेका उहाँले बताउनुभयो ।

व्यासको बुदीबाट अहिले आठ क्विन्टल स्याउ सदरमुकाम पुर्‍याइएकाे र बाँकी स्याउ सदरमुकाम ल्याउने तयारी भइरहेको छ । उत्पादन भएको स्याउ सदरमुकामबाट व्यापारीहरूलाई प्रतिकिलाे दुई सय रुपैयाँ र खुद्राका लागि प्रतिकिलाे दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । व्यासको बुदी क्षेत्रमा नाै हजार वटा स्याउकाे बाेट लगाइएकाेमा यो वर्ष छ हजार पाँच सय बाेटले फल दिएकाे फर्मका सञ्चालकहरूले बताएका छन् ।

केही वर्षदेखि व्यावसायिक रूपमा स्याउ उत्पादन थालिए पनि जङ्गली जनावरले नोक्सानी गर्न थालेपछि मेहनत खेर गएको अध्यक्ष बुढाथोकीले गुनासो गर्नुभयो । स्याउ बारीमा रात–दिन पहरा दिँदा समेत जङ्गली जनावरबाट बचाउन नसकिएको उहाँले बताउनुभयो । केही वर्षदेखि व्यासका स्थानीय किसान पनि व्यावसायिक स्याउ उत्पादनमा जुटेका छन् ।

दार्चुलाको अपि हिमाल, व्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन दार्चुलाका अनुसार जिल्लाभर अढाइ सय हेक्टर बढी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गाउँमा फलेको स्याउका लागि यातायातको पहुँच नहुँदा बजार र ढुवानीको समस्या झेल्नुपरेको किसानको गुनासो छ । दार्चुलाको मौसम सुहाउँदो इटाली, गाला, फुजी, रोयल, डेलिसियस, गोल्डन डेलिसियस लगायत जातका स्याउको उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । दार्चुला–तिङ्कर सडक समयमै निर्माण हुन सके बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरि पुर्‍याउन सजिलो हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया