अब टी–२० विश्वकपतर्फ ध्यान : प्रशिक्षक देसाई

 कात्तिक १९, २०८० आइतबार २०:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।

आज आइतवार फाइनल खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानसँगको हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे ।याे वर्ष नेपाली खेलाडीले धेरै मेहनत गरेको उनकाे भनाइ छ ।

देसाईले आजकाे खेलमा नेपालले ब्याटिङमा राम्रो गरे पनि बलिङमा 'पावर प्ले' मा केही गल्ती भएको बताए । नेपाल र ओमानबीचकाे खेल 'टाई' भएपछि 'सुपर ओभर' मा पुगेकाे थियाे । 'सुपर ओभर' मा नेपाल पराजित भयाे ।

प्रशिक्षक देसाईले टी–२० क्रिकेटको राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै 'सुपर ओभर' मा प्रयोग गरिएको बताए । यद्यपि आज बाेहाेराले दबाब राम्रोसँग झेल्न नसकेको उनकाे भनाइ छ ।

यस्तै विवेक यादव जस्ता खेलाडी अगाडि आउनु पनि सुखद पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाइ छ । स–साना बालबालिका पनि क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको उनले बताए ।

नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजा प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन पाँच/छ महिनाको समय रहेको र यसबीचमा शृङ्खलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने उनले बताए ।

याे प्रतियाेगितामा नेपालका गुलसन झा उत्कृष्ट युवा खेलाडी चुनिएका छन् । उनले प्रतियाेगिताभरि ७९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए । यस्तै नेपालकै कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिए । उनले १ अर्धशतकसहित १ सय ८५ रन बनाएका थिए ।

ओमानका अकिब इलियास सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले प्रतियोगितामा १ सय रन बनाउनुका साथै १० विकेट लिएका थिए । यस्तै ओमानकै बिलाल खान उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया