बर्दिया राष्ट्रिय निकुञ्जभित्र घाइते अवस्थामा फेला परेको बाघको उद्धार

 कात्तिक २७, २०८० सोमबार १५:९:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मला नजिक पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट घाइते अवस्थामा फेला परेको पाटेबाघको उद्धार भएकाे छ ।

पछिल्लो भाग र पछाडिका खुट्टासमेत टेक्न नसक्ने भएर घाइते अवस्थामा रहेको पोथी पाटेबाघकाे रेखदेखलगायत उपचारका लागि उद्धार गरिएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले जानकारी दिनुभयो ।

स्थानीयहरू निकुञ्जभित्र घाँस दाउरा लिन जाने क्रममा घाइते बाघ देखेपछि निकुञ्जमा खबर गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोलीले खोजी गर्ने क्रममा निकुञ्जभित्र घिस्रिँदै हिँड्दै गरेको बाघलाई 'डार्ट' अर्थात् लठ्याउने सुई हानेर नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

झन्डै १३ वर्ष उमेर पुगेको पोथी पाटेबाघलाई राख्ने ठाउँ नभएपछि तत्कालका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो खोरमा राखिएको छ ।

निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघमध्ये दुई वटा रम्मापुर पोस्ट र तीन वटा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराका खोरमा राखिएका छन् । बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त ठाउँ छैन ।

यस्तै निकुञ्ज किनारका गाउँबस्तीमा प्रवेश गरी पशुचौपायालाई आक्रमण गरी आतङ्क मच्चाउने एउटा चितुवालाई पनि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोलीले नियन्त्रणमा लिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया