भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन शुरु, विद्यार्थी अझै त्रासमा

 मंसिर ७, २०८० बिहिबार ८:५१:२८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - जाजरकोटको नलगाड नगरपालिका–३ चावले चौरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा पाँचमा पढ्ने धनबहादुर पुन भूकम्प गएको १९ दिनपछि हिजो मंसिर ६ गते विद्यालय पुग्नुभयो । उहाँ एकदिन अगाडि पनि स्कुल आउनु भएको थियो । तर, अस्थायी संरचना बन्दै गरेकोले ६१ जनामध्ये त्यसदिन स्कुल आएका १३ जना सबै फर्किए ।

असोज १७ गतेको भूकम्पले उहाँ पढ्ने राष्ट्रिय प्रावि बस्नै नहुने गरी चर्किएको छ । कहाँ बस्ने, के गरी पढ्ने भन्ने कुरा लागेको थियो उहाँलाई । तर, भूकम्पपछि बनेका अस्थायी संरचना देखेपछि उहाँलाई यही हो स्कुल भन्ने लाग्यो ।

उहाँ भन्नुहुन्छ, ‘बस्नै नहुने स्कुलमा कसरी पढ्ने भन्ने थियो । साना छाप्रा रहेछन् । अहिले पनि फेरि भूइँचालो फेरि आउँछ कि भनेर डर पनि लागिराछ । साथीहरुसँग भेट्दा रमाइलो पनि लागिरहेको छ । सरहरुले भूकम्प आउँदा घर भित्र नबस्नु बाहिर बस्नु भन्नुभाछ ।’

उहाँको घर पनि भूकम्पले चर्किएका कारण अहिले बाहिर पालमा बसिरहनु भएको छ । तर, घर नभत्किएकोले कापी, किताब भने पुरानै प्रयोग गर्न सकिएको उहाँ बताउनुहुन्छ । असोज १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटका चार सय २३ विद्यालयमध्ये तीन सय ४१ विद्यालय क्षतिग्रस्त भएका छन् । एक हजार पाँच सय ९९ कक्षाकोठामा क्षति पुगेको छ । भूकम्पका कारण २४ जना विद्यार्थी तथा एक जना शिक्षकको ज्यान गएको छ ।

त्यस्तै, भूकम्पका कारण रुकुम पश्चिमका तीन सय आठ वटा विद्यालयमध्ये ५२ वटा विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ भने ७० वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । त्यस्तै, पाँच सय ६७ कक्षा कोठामा क्षति पुगेको छ । भने १८ जना विद्यार्थीले भूकम्पका कारण ज्यान गुमाएका छन् ।

भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिमका धेरै विद्यालयमा पढाइ शुरु भएको छ । तर, अस्थायी संरचना भएकाले पठनपाठन गर्न भने सहज छैन । कतिपय विद्यालयको अस्थायी संरचना पनि तयार हुँदै गरेकाले विद्यार्थीहरु खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।

भूकम्पका कारण स्कुलभित्र बसेर पढ्ने अवस्था नभए पनि पालिका, दातृ निकाय साथै स्थानीयको जनश्रमदानका कारण अस्थायी संरचना बनाउँदै पठनपाठन शुरु गरिएको छ । नेपाल राष्ट्रिय प्राविका व्यवस्थापन समितिका अध्यक्ष हेमकुमार विष्टका अनुसार प्रशासनिक तथा पठनपाठनका लागि दुई वटा भवन रहेको विद्यालयको प्रशासनिक भवन भने पूरै भत्किएको छ । पठनपाठन गर्ने ६ कोठाको भवन भने चर्किएको छ । भित्र जान सक्ने अवस्था छैन ।

उहाँका अनुसार ६१ जना विद्यार्थी रहेको विद्यालयमा अस्ति मङ्गलवार १३ जना विद्यार्थी पढ्न आएका थिए । तर, पहिलो दिन विद्यार्थी पनि थोरै आएको अनि अस्थायी संरचना बन्दै गरेकोले पढाइ भएन । हिजो बुधवारदेखि भने पढाइ शुरु भएको छ ।

सबै विद्यार्थीहरुलाई चर्किएको भवनभित्र नजान र अबदेखि बाहिर बनेको अस्थायी संरचनामा बसेर पढ्नुपर्ने बारेमा जानकारी गराएको पनि उहाँले बताउनुभयो । यसका बारेमा सबै अभिभावकलाई पनि जानकारी गराइसकेको उहाँको भनाइ छ ।

समुदाय, पालिका तथा स्थानीयहरु अहिले अस्थायी टहरा बनाएर भए पनि विद्यालय सञ्चालन गर्न लागिपरेको बताउनुहुन्छ प्लान इन्टरनेशल नेपालको प्रारम्भिक बालविकास कार्यक्रमका प्राविधिक सल्लाहकार किरण भण्डारी । उहाँका अनुसार अहिले जाजरकोटमा आरसीसी अर्थात् सिमेण्टेड भवन भएका विद्यालयहरु जहाँ भूकम्पले क्षति पुगेको छैन ती विद्यालयहरु मंसिर ४ गतेदेखि नै खुलेका छन् ।

उहाँ भन्नुहुन्छ, ‘समुदायका मानिसमा छिटोभन्दा छिटो विद्यार्थीलाई पढाउन पाए हुन्थ्यो चासो छ । उहाँहरु त्यसका लागि लागिरहनु भएको छ । तर, विद्यार्थीहरुमा भने एक किसिमको डर छ । घर नभएको हुनाले त्रिपालभित्र बसेर पढ्न असहज छ । बत्ती नभएका कारण केही पढ्ने र होमवर्क गर्ने भन्ने अवस्था छैन ।’

भूकम्पका कारण धेरै घर भत्किएकोले धेरै विद्यार्थीका किताब कापी घरभित्रै पुरिएका छन् । यस्ले गर्दा पनि पठनपाठनमा अर्को समस्या छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेलाई अस्थायी संरचना बनाएर विद्यार्थीलाई पढाउने भन्दा पनि मनोवैज्ञानिकरुपमा पढ्नका लागि तयार गर्नु नै ठूलो कुरा हो । पाठ्यपुस्तक अभाव, मानसिक डर आदि विभिन्न कारणले अहिलेलाई पढाउन शुरु गर्नुभन्दा पनि अवस्था सहज बनाउने तिर लाग्नुपर्छ ।’

पठनपाठनको अवस्था यसरी सहज बनाउन सकिन्छ

भूकम्पका कारण जाजरकोट तथा रुकुमका धेरैजसो विद्यालयहरु क्षति भएका छन् । कोही विद्यालयहरु आंशिक क्षति भएका छन् भने कोही पूर्णरुपमा क्षति भएको छ ।

भूकम्प गएको १७ दिन पछाडि मंसिर ४ गतेदेखि भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरु खुलेका छन् । क्षति नभएका विद्यालयमा पठनपाठन शुरु भएको छ । पूर्णरुपमा क्षति भएको विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठन शुरु गरिएको छ । कतिपय विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण भइरहेको छ । दातृ निकाय, स्थानीय तथा विद्यालय व्यवस्थापन समितिको पहलमा यस्ता अस्थायी सिकाइ केन्द्रहरु निर्माण भइरहेका छन् ।

यस्ता अस्थायी सिकाइ केन्द्र वा विद्यालयमा विद्यार्थीलाई कसरी पठाउने र अवस्था कसरी सहज बनाउने त ? युनिसेफ, नेपालगञ्जका शिक्षा अधिकृत फर्सुराम पन्थको सुझाव यस्तो छ :

विद्यार्थीहरु अहिले एकप्रकारको आघात (ट्रमा) मा छन् । अहिले उनीहरुले आफ्नो अभिभावक छोड्न मानिरहेका छैनन् । तर, विद्यालय वा अस्थायी सिकाइ केन्द्रमा आइसकेपछि विद्यार्थीले साथीहरुसँग भेट्छन्, शिक्षकहरुसँग भेट्छन अनि आफ्नो अनुभव साटासाट गर्छन् । यसले गर्दा उनीहरु पनि मनोसामाजिक रुपमा पनि तयार हुँदै जान्छन् । जस्ले गर्दा अवस्था सामान्यीकरण हुँदै जान्छ । अनि अभिभावकलाई पनि आफ्ना केटाकेटी विद्यालय पठाउँदा राम्रै हुने रहेछ भन्ने लाग्छ । 

विद्यार्थीहरु स्कुल जान थालेपछि अवस्था सामान्य हुँदै जान थालेको अभिभावकलाई पनि महसुस हुन्छ । यसकारण विद्यार्थीलाई सम्झाइ, बुझाइ विद्यालय पठाउने जिम्मेवारी अभिभावकको हो यो बेलामा । यस्तो बेलामा विद्यार्थीलाई विद्यालय पठाउन अभिभावकलाई पनि मन नलागेको पनि हुनसक्छ तर, यस्तो बेलामा आवश्यक परे उनीहरुलाई सचेतना कार्यक्रम पनि गर्नुपर्ने हुन्छ ।

शिक्षकले यो बेलामा विद्यार्थीहरुलाई पहिलेको सामान्य अवस्थामा जस्तो शिक्षण सिकाइ क्रियाकलाप गरेर हुँदैन । यसका लागि विशिष्ट किसिमको सीप चाहिन्छ । यो बेलामा उनीहरुलाई पाठ्यपुस्तकको पठनपाठनभन्दा पनि मानसिकरुपमा बलियो बनाउने किसिमको वातावरणको सिर्जना गर्नुपर्छ । जस्तो, भूकम्प आउँदा तपाईँ कहाँ हुनुहन्थ्यो, कस्तो भयो, के गर्नुभयो भनेर सबैलाई आफ्नो अनुभव बताउन लगाउँदा पनि अवस्था एकदमै सामान्य बन्दै जान्छ । र एकैपटक उनीहरुलाई पढाइको कुरा नगरेर बिस्तारै पठनपाठनतर्फ केन्द्रित गर्नुपर्छ । शिक्षकहरुले यो बेलामा सकेसम्म विद्यार्थीहरुसँग नजिक हुने र उनीहरुका कुरा सुन्ने गर्नुपर्छ । साथीभाइबीच घुलमिल हुने र आफ्ना कुराहरु साट्ने वातावरण पनि तयार गरिदिनुपर्छ । यसो गर्दा विद्यार्थीको शिक्षण सिकाइ निरन्तरता पनि हुँदै जान्छ ।

विद्यार्थीअहिले विद्यार्थीका आफ्नै घरहरु भत्किएका छन् । विद्यालय भत्किएको छ । अस्थायी संरचनामा पठनपाठन शुरु भएका छन् । यस्ता संरचनाहरुमा पनि आएर आफ्ना, साथी तथा शिक्षकहरुसँग घुलमिल भएर आफ्ना मनका कुराहरु साट्दा मानसिक तनाव, दबाब कम हुन्छ । जस्ले गर्दा विद्यार्थीको आफ्नो मुख्य जिम्मेवारी पढ्ने हो भन्ने कुराको बोध हुन थाल्छ उसले आफूलाई मानसिकरुपमा पठनपाठनका लागि तयार बनाउँछ ।

अभिभावकले अहिले आफ्नै किसिमको पीडा भोग्नु भएको छ । तर, केटाकेटी स्कुल जान थाले भनेपछि उहाँहरुलाई पनि एक किसिमको तनाव कम हुन्छ । स्थिति सामान्य बन्दै गएको आभास हुन्छ । विद्यार्थीले अभिभावक र शिक्षकबीच पुलको काम गर्ने हुँदा पनि अवस्था सामान्यीकरण हुन झनै सहज हुन्छ । यसले सिँगो गाउँ/टोलमा नै अवस्था सामान्य हुन झनै मद्दत गर्छ ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा सबैभन्दा ठूलो भूमिका नै पालिकाको देखिएको छ । पालिकाले विद्यालय भवन भत्किएकाे ठाउँमा अस्थायी सिकाइ केन्द्रहरुको निर्माणमा सहयोग गर्ने । धेरै विद्यार्थीका घर भत्किएका कारण पाठ्य पुस्तकको अभाव छ त्यसको व्यवस्था गर्नेतिर लाग्ने । र, पुनःनिर्माणमा सहयोग गरेर अभिभावकलाई पनि एक किसिमको ढाडस दिएर विद्यार्थीलाई विद्यालय पठाउने वातावरण बनाउने काम पनि गर्नुपर्छ ।

शिक्षक, विद्यार्थी र अभिभावकमाझ गएर अप्ठेरो परिस्थितिमाझ पनि हामी काम गरिरहेका छौँ । यस्तो अवस्थामा हामी सबै एकआपसमा मिलेर अगाडि बढेमा यो विषम परिस्थितिबाट सजिलै बाहिर निस्कन सकिन्छ भन्ने विश्वास समुदायमा दिलाउनु पर्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया