कुरा होइन, काम गरौँ : सभापति देउवा

 मंसिर १६, २०८० शनिबार १९:१९:३९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले काम गरेर देखाउने बेला भएको बताउनु भएको छ । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले आफू कुरा भन्दा काम गर्ने व्यक्ति भएको बताउनु भयो । बुद्धको जन्मस्थलबाट शुरु भएको सम्मेलनले देशैभर पार्टीका कार्यकर्ताबीचमा उत्साह ल्याउन मद्धत पुर्‍याउने सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो।

कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस परिवर्तन भयो भने मात्रै देश परिवर्तन हुने बताउनु भयो । त्यसका लागि उग्र महत्वकांक्षा र आचरणलाई त्याग्न आवश्यक रहेको उहाँले बताउनु भयो । देशमा कुशासन र भ्रष्टाचार बढी रहेको भन्दै पारदर्शिता अहिलेको आवश्यकता भएको कोइरालाले बताउनु भयो । दण्डहीनताको अन्त्य र पारदर्शी समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्नुपर्ने नेता डाक्टर कोइरालाको भनाइ छ ।

महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि सरकारका हरेक निकायका उच्च ओहोदामा बसेकाहरुको सम्पत्ति छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने बताउनु भयो । पार्टी बलियो बनाउन समीक्षा र संकल्प आवश्यक रहेको उहाँले बताउनु भयो । जनतामा रहेको अलमल, आक्रोश र नैराश्यतालाई चिर्दै उत्साह, भरोसा जगाउने नेतृत्व अहिलेको आवश्यकता रहेको भन्दै महामन्त्री थापाले बाँकी तीन वर्ष राम्रो काम गरे जनताले चुनावमा कांग्रेसलाई भोट आफैँ दिने बताउनु भयो । त्यसका लागि सत्तामा रहेका सरकारका हरेक संरचनाको नेतृत्व गर्नेहरु कांग्रेसीहरुले जनपक्षीय काम गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ । महामन्त्री थापाले नेताहरुमा रहेको अलमल र असक्षमताले राजावादीहरुले सलबलाउने मौका पाउन थालेको बताउनु भयो ।

अर्का महामन्त्री विश्वप्रकास शर्माले अहिलेको विकासको मोडललाई परिवर्तन गर्न सकिएन भने देशको अवस्था परिवर्तन हुन नसक्ने बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने चाहना त्याग्नु पर्ने भन्दै कांग्रेसले नेतृत्व गर्ने अवसर आए अर्को आशालाग्दो व्यक्तिलाई अगाडि सार्नुपर्ने बताउनुभयो । पुरानो व्यवस्था आए कायापलट हुन्छ भन्ने भ्रमहरु छर्न थालिएको भन्दै लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने महामन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डाक्टर चन्द्र भण्डारी, दिपक गिरी, पुष्पा भुसाल लगायतले बोल्नुभएको थियो । सम्मेलन अन्तर्गत भाेलि आइतवार बन्द सत्र हुने प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया