दार्चुलाबाट बैतडी सर्‍याे महाकाली नदी नियन्त्रण आयोजना कार्यालय

 मंसिर १९, २०८० मंगलबार १४:४०:५३ | ललित सामन्त
unn.prixa.net

दार्चुला – दार्चुलामा रहेकाे महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडीको पाटन सरेको हो ।

कार्यालय पाटन सरेपछि साेमवार आयोजना प्रमुखसहित कर्मचारी बैतडी गएका छन् । आज मङ्गलवारदेखि पाटनमा कार्यालय सञ्चालनको तयारी गरिएको छ । दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयकी खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ । सम्पर्क कार्यालयमा इन्जिनियर र सब–इन्जिनियर आउने भएका छन् ।

सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको इन्जिनियर विनोदबहादुर चन्दले जानकारी दिनुभयो । कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा हुने उहाँले बताउनुभयो ।

गएकाे वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो । २०७० सालमा महाकाली नदीमा बाढी आउँदा महाकाली नदी नियन्त्रणका लागि महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलामा स्थापना गरिएको थियो ।

सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि महाकाली नदी तटीय क्षेत्र नियन्त्रणका लागि याे कार्यालय स्थापना गरेको थियो । दुई अर्ब ६७ करोड रुपैयाँ बजेटमा शुरु भएकाे आयोजनाले दुई अर्ब ६२ करोड रुपैयाँ बराबरकाे १७ वटा प्याकेजकाे काम गरेकाे ऊर्जा मन्त्रालयले जनाएको छ ।

गएकाे वर्ष लास्कु खोलामा आएको बाढीले झन्डै एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएकाे थियो । काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलेलीले सरकारको विरोध गरेका छन् । दार्चुलबाट निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री र मन्त्रीलाई भेटेर कार्यालय जिल्लाबाट नसार्न आग्रह गरेको भए पनि ऊर्जा मन्त्रालयले कार्यालय सारेको हो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया