दार्चुलाको महेन्द्र माविमा मोबाइल फोन प्रतिबन्ध

 मंसिर २७, २०८० बुधबार २०:२६:२ | ललित सामन्त
unn.prixa.net

दार्चुला – जिल्ला सदरमुकाम खलङ्गा महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई माेबाइल फाेन प्रयाेग गर्न प्रतिबन्ध गरेकाे छ । आज बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो । विद्यार्थीले माेबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध गरेकाे प्रधानाध्यापक जाेशीले बताउनुभयाे ।

विद्यालयले यसअघि पनि मोबाइल फोन प्रतिबन्ध गरेकाे थियो । बीचमा कोभिड–१९ महामारीका कारण खुला गरिएकाे प्रतिबन्धलाई विद्यालयले अहिले फेरि शुरु गरेकाे हाे ।

विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको छ । हिजाे मङ्गलवार विद्यालयमा प्रहरीले आयोजना गरेको लागुपदार्थ दुर्व्यसन तथा ओसारप्रसार ,सामाजिक सञ्जालको गलत प्रयोग र सावधानीका बारेमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममार्फत विद्यालयले प्रमुख जिल्ला अधिकारी किरण जोशी र प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहलाई माेबाइल प्रतिबन्ध लगाएकाेबारे जानकारी दिएको हाे ।

महेन्द्र नमुना माविमा शिशुदेखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । साथै विद्यालयमा प्राविधिक विषयको पनि पढाइ हुँदै आएको छ । विद्यालयमा झन्डै २८ सय जना विद्यार्थी रहेका प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया