मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

 पुष १९, २०८० बिहीबार २०:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बिहीवार बसेको बैठकले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका क्रममा होटल तथा बसोबास खर्चबापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो निर्णय गरेको सदस्य–सचिव घिसिङले बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणका लागि विगतमा राज्यको ठूलो धनराशी खर्च हुने गरेको थियो । खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण सञ्चालन गर्दै राम्रो नतिजा हासिल गर्न पनि सहयोग पुग्ने भएको हुँदा हामीले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौँ’, सदस्य–सचिव घिसिङले भन्नुभयो, ‘उदाहरणका लागि १९ औँ एसियाली खेलकुदको प्रशिक्षणका लागि सात महिनामा १२ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । १३ औँ दक्षिण एसियाली खेलकुदको तयारीका लागि सात महिनाकै अवधिमा ४३ करोड रुपैयाँ खर्च भएको थियो । यो राज्यलाई ठूलै भार हो । यसलाई कम गर्न सकिन्छ । त्यसैले अहिलेको मन्त्री निवासलाई खेलाडी आवासका रूपमा विकास गर्न सके राज्य, खेलाडी र समग्र खेल क्षेत्रलाई फाइदा हुन्छ ।’

सदस्य–सचिव घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्नसके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सबै खेलाडी तथा प्रशिक्षकलाई समानस्तरको बसोबास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्नसके नतिजा पनि राम्रो आउने बताउनुभयो ।

उहाँले राखेपको यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भयो भने खेलप्रेमीका साथै आमजनमानसमा राज्यले खेलाडीलाई उच्च प्राथमिकता दिएको सन्देश जाने र खेलाडी पनि उत्साहित हुने विश्वास व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राखेपको कार्यकारी समितिको प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको सदस्य–सचिव घिसिङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया