मौसम, स्वास्थ्य र विज्ञानसँग जोडिएका छन् माघे सङ्क्रान्तिका खानपिन

 माघ १, २०८० सोमबार १०:९:३९ | डा. विणा पौडेल
unn.prixa.net

हाम्रा सबै चाडपर्वको पृष्ठभूमि हेर्ने हो भने तिनको पृष्ठभूमि धर्म हो । धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका जति पनि कुराहरु छन् जस्तै मौसम, वातावरण, कृषि तथा पारिवारिक सम्बन्ध प्रगाढ बनाउने कुरासँग जोडिएको छ । कोही पर्व पेसासँग जोडिएको छ । हामीले सृष्टिको उत्पत्तिदेखि हेर्ने हो भने शुरुमा मानिस सिकारी जीवन बिताउँथ्यो । त्यसपछि कृषि गर्न जानेपछि शुरु भएको हो खानेकुरा भनेको । त्यसले गर्दा हाम्रो सबै कुराको सम्बन्ध कृषि र पर्यावरणसँग छ । हाम्रा सबै पर्वहरु ऋतु तथा महिनासँग जोडिएका छन् । प्रमुख बाली, फलफूल वा कन्दमूल जुन बेला फल्छ त्यसलाई घरमा भित्र्याइसकेपछि पहिले आफैँ पकाएर खाने हाम्रो चलन छैन । त्यसभन्दा अगाडि हामी हाम्रो मान्यता अनुसार प्रकृति तथा ईश्वरलाई उत्सवको रुपमा चढाएर चढाएर खाने चलन छ । हामी यसका लागि पृथ्वीलाई कृतज्ञता प्रदान गर्दै खाने गर्छौँ ।

हामीले बीज, अन्न रोपेपछि घरभित्र भित्र्याउन पाए पछि माटोबाट ल्याएको भएर उसलाई अर्पण गरेर खान्छौँ । यो सबै चिज ऋतुसँग सम्बन्धित र मौसमसँग सम्बन्धित हो । जस्तै माघमा हाम्रो समुदाय अनुसार खाने प्रमुख चिजहरु छन् । त्यो समुदाय कहाँ बसोबास गर्ने कहाँको रैथाने बासिन्दा हो त्यसमा भर पर्छ । जहाँको रैथाने बासिन्दा हो त्यस अनुसारको खानपान सबै ठाउँमा छ । तर पनि माघे सङ्क्रान्तिका दिन सबैभन्दा धेरै खाइने कुरामा कन्दमूल पर्छ । जस्तो विभिन्न किसिमका तरुल, पिँडालु, सखरखण्डा अर्थात जमिन मुनि चिजहरु यसमा प्रमुखरुपमा पर्छन् । जुन चिज हामी नपकाइकन खान सक्छौँ त्यसमा सबैभन्दा धेरै पौष्टिक कुराहरु हुँदो रहेछ । यो कुरा आयुर्वेदमा पनि आउँछ । जब हामी यस्ता कुराहरु पकाउँदै जान्छौँ यसका पौष्टिक चिजहरु क्रमशः कम हुँदै जाने रहेछ । त्यसकारण यस्ता कन्दमूलहरु सधैँ खान सक्नुपर्ने हो । तर, नसक्दा पनि सबै समुदायमा माघे सङ्क्रान्तिमा तरुल खाने प्रचलन रहेको हो । कन्दमूल खाने कारण सन्तुलित खाना भनेर बताइएको त छैन । तर, यसलाई धर्मसँग लगेर जोडिएको छ । पकाएर खाने हाम्रो स्वभावका कारण अहिले हामी काँचो चिज खान सक्दैनौँ । त्यसकारण पनि हामी तरुल उसिनेर खान्छौँ । तरुल माघे सङ्क्रान्तिमा खानुको मूल कारण यो हो ।

चराचुरुङ्गी, जीवजन्तुले खाएपछि खान योग्य

मानिस पृथ्वीमा भएको सबैभन्दा चेतनशील प्राणी भएकोले उसले के खान हुने, नहुने ज्ञान पाउने भनेको चराचुरिङगी, प्राणी, किरा आदिले खाएपछि हो । यसकारण हामीले खाने चिज टिपिसकेपछि, पकाइसकेपछि तहतहमा चढाएर खाने चलन छ । पकाउने अग्नि, घर बाहिर लगेर देवता तथा पितृ अनि खान बसिसकेपछि पनि हामी चढाउँछौँ । यो ईश्वर, प्रकृति जसको नाममा चढाए पनि त्यो खाने भनेको चराचुरुङ्गी, जीवजन्तुले हो । उनीहरुले खाएको देखेपछि, अवलोकन गरेपछि यो चिज खान योग्य रहेछ भनेर मानिसले खान थालेको छ ।

हाम्रा जति पनि धार्मिक ग्रन्थहरु छन् जस्तै वेद, उपनिषद, स्मृति, पूराण तथा महाभारत र रामायणमा विभिन्न कथाहरु आउँछन् । कथाका विभिन्न पात्रहरु विभिन्न कुरासँग जोडिएका छन् । उनीहरुको जीवन धेरैजसो जङ्गलमा बितेको छ । त्यसक्रममा सबैभन्दा धेरै कन्दमूल खाएको देखिन्छ । त्यसकारण प्राचिन समयदेखि नै मानिसले कन्दमूललाई आफ्नो प्रमुख आहारा बनाएको देखिन्छ । गृहस्थाश्रममा प्रवेश गरिसकेपछि भने आगो बालेर दुई छाक पकाउनुपर्छ भन्ने छ । त्यस्तै, घरदैलोमा जोगी सन्यासी कोही आए भने दिनुपर्छ भन्ने नियम पनि छ । त्यसकारण गृहस्थाश्रम प्रवेश गरेपछि आगो बालेर पकाउने कुरो सिकाइएको छ । त्यसअघिको ब्रह्मचर्य आश्रम भनेको मागेर खाएर पढ्ने पढाउने भन्ने छ । त्यसकारण जब मानिसले समूहमा बस्न जान्यो त्यसबेलादेखि यस्ता चिजहरु उसको आहारामा जोडेको देखिन्छ । कृषि गर्न जान्नुभन्दा पहिलेको मानिसको खाद्यान्न भनेको कन्दमूल नै हो ।

मेसोपोटामियाको सभ्यता, चीनको सभ्यता तथा सिन्धुघाटीको सम्यतालाई सबैभन्दा पुरानो सभ्यताकोरुपमा मानिन्छ । सबै सभ्यताको समय सबैले एउटै नमाने पनि औसतमा १० हजार वर्ष अघिको सभ्यता मान्न सकिन्छ । यो प्रामाणिक भयो । हिन्दू तथा बौद्ध ग्रन्थमा लाखौँ वर्ष भनेर सभ्यताको कुरा गरिएको छ । तर, त्यो भनेको साहित्यक स्रोत भयो । तर उत्खननबाट भेटिएका पूरातात्त्विक स्रोतबाट त्यस्ता सभ्यतामा भेटिएका अन्नका दानाहरु, कन्दमूलका बीजहरु आदिको आधारमा हेर्दा पनि १०/१२ हजार वर्ष अगाडिदेखि कन्दमूल खान जानेको देखिन्छ ।

जिज्ञासु भएकाले के कसरी खाने भन्ने ज्ञान

मानिस चेतनशील र खोजमूलक प्राणी भएकोले यो सबै कुरा जानेको हो । तर, यो सबै गर्न भने उसलाई सयौँ वर्ष लागेको छ । आज हामीले सजिलै पाएको हुनाले हामी त्यो कुरोको चुरोसम्म पुगेका हुँदैनौँ । कुनै पनि जान्न बुझ्नका लागि मानिसले सयौँ वर्ष लगाएको छ । जन्म, मृत्यु स्वस्थ, दीघार्यु आदिका बारेमा मानिसले निरन्तर जान्ने प्रयत्न गरिरहेका कारण यो सबै ज्ञान भएको हो ।

पूरातत्त्वमा के भनिन्छ भने कुनै पनि कुरा पत्ता लगाउन अन्वेषण गरेर, वैज्ञानिक पद्धति अपनाएर गरिन्छ । अर्को भनेको मौका वा संयोगले पनि केही पाइन्छ । जस्तै नजानिकन कतै खन्दा केही चिज निस्कियो र यो चिज फल्छ अनि खानहुन्छ भनेर जानियो । हामीले सधैँ खाइरहेको चिज पनि कहिलेकाहीँ मिश्रण नजान्दा ती चिजहरु विषालु पनि हुनसक्छन् । हामीकहाँ जंगली च्याउ खाएर बर्सेनि धेरैको ज्यान जाने गरेको छ । यसकारण पकाइसकेपछि हामी आफैँ खाँदैनौ । अर्को कुरो भनेको पकाएको कुरामा केही मिसिएला र खानेकुरा विषयुक्त हुन्छ भनेर पकाउने भान्छेले हामीकहाँ पहिले भान्छा छोड्न नहुने चलन थियो ।

पहिले मानिसले कुन कुरा पौष्टिक र पोषणरहित भनेर जानेको होइन । ज्यान बचाउन जे उपलब्ध भयो त्यही खान थालेको हो । तर, कुन चिजभन्दा कुन चिज खानु उपयुक्त छ भनेर बुझ्न उसलाई समय लागेको छ । अनि बुझ्दै गएपछि उसले त्यो कुरोलाई अरु कुरोसँग जोड्दै गयो । खाने कुरामा कुन खाने र कुन छोड्ने भनेर यसरी जान्यो । अहिले त हामीलाई धेरै कुराले सिकाइसकेको छ । अहिले सिकेको कुरा अनुशरण मात्र गरे पुग्छ ।

तर, आजभन्दा केही हजार वर्ष अगाडि यो अवस्था थिएन । त्यस बेला मानिसले हरेक कुरा आफैँले जान्नुपरेको थियो । सिक्नु परेको थियो । यसका लागि सबै कुरा त्यागेर त्यही एउटा कुरामा लागेको हुन्थे । जस्लाई हामी ऋषिमुनि भन्छौँ । कसैले गायन सम्बन्धी कुरामा मात्र लागे । कसैले औषधि सम्बन्धी कुरामा लागे । गुरुकुलको परम्परा शुरु भएपछि एउटा विषयमा एउटाले मात्र अनुसन्धान गरे । अनि बिस्तारै यो कुरो खाने र यो कुरो नखाने भन्ने थाहा पाए । कुन पौष्टिक र कुन पौष्टकरहित थाहा पाए । त्यसलाई संस्कार र संस्कृतिसँग जोड्दै लगे । कुन पच्छ, कुन पच्दैन । कुन उमेरको मानिसले कुन कुरा खाने भन्ने समय अनुसार बुझ्दै र समावेश हुँदै गयो । अहिले हामीले देखेको जानेको कुरो हिजोका आज भएको होइन । यसको लागि हामीलाई धेरै वर्ष लागेको छ ।

वैदिक सभ्यतामा आउँदा धेरै कुराको ज्ञान 

लिखित इतिहास नभएको कुरा हामीलाई सबै थाहा छैन । तर, लिखित इतिहास भएको वेदको समय जस्तै वेदको उपवेदमा पर्ने आयुर्वेदमा कुन, कुन चिज खाने भनेर जस्ले अनुसन्धान गरे ती ऋषिहरुको नाम नै लेखेर के-के बताए के-के गरे भनेर लेखिएको छ । वेदको समय हुन हो भनेर हेर्ने हो भने सिन्धुघाटीको सभ्यताभन्दा वैदिक सभ्यता पछिको मानिन्छ । त्यो समयसम्म आइपुग्दा सबै कुरा एकदमै विस्तृतमा उल्लेख गरिएको छ । चाहे त्यो गणितको कुरा होस् वा ज्योतिष शास्त्रको कुरा होस् । यी सबै कुरा आइसकेपछि त्यसलाई खानपानसँग पनि जोडे । 

यसमा सनातन धर्मावलम्बीहरुको एकदमै विस्तृत अध्ययन छ । शुरुमा त्यसमा वर्ग विभाजन थियो । जस्तै काम अनुसारको खानपान । खानेकुरालाई सात्विक, राजसी र तामसी भनेर तीन भागमा विभाजन गरिएको छ । नपकाइकन अहिले टिपेर अहिले नै खाने फलफूलहरु सात्विक खाना भए । कन्दमूलहरु । त्यसपछि पकाएर खाने कुरामा पनि तीन घण्टाभन्दा बढी भयो भने पौष्टिक कुरा नष्ट हुने कारणले त्यस्ता कुरा नखाने । त्यसमा पनि काम अनुसार खानाको विभाजन गरिएको छ । कोठामा बसेर पढ्ने, लेख्ने काम छ भने त्यहाँ धेरै खानपानको आवश्यकता हुँदैन । तर, शारीरिक परिश्रम पर्ने खेतमा काम गर्ने मानिसको लागि सबै कुराको आवश्यकता पर्छ । यसरी खानपानमा विभाजन गरिएको छ । त्यही कुरो पछि आएर वर्ण व्यवस्थामा ब्राह्मण, क्षेत्री, शुद्र, वैश्यमा लागू गरिएको हो ।

ब्राह्मणहरुले पढ्ने पढाउने काम गर्ने हुनाले माछा, मासु, लसुन, प्याज र बेलुकी घाम अस्ताइ सकेपछि भोजन वर्जित गरिएको थियो । उनीहरुले खानको लागि धेरै समय खर्च नगर्ने र जुन कुरो छिटो पाक्छ त्यो खाने व्यवस्था मिलाइएको थियो । क्षेत्रीयहरु लडाइँमा जानुपर्ने हुनाले शारीरिक बल पनि चाहिन्छ । उनीहरुलाई राजसी खानाको आवश्यकता पर्ने भयो । यसकारण जस्ले जुन व्यवसाय अपाउने हो त्यसले व्यवसाय अनुसारको खानपान हुनुपर्छ भनेर यसलाई सनातन धर्मावलम्बीहरुले जोडे । र, त्यो खानपान धर्मसँग जोडियो ।

खानपानलाई धर्मसँग जोडियो

मानिसहरुले गाई शुरुदेखि नै पाल्थे त्यसकारण गाईलाई पवित्र मानियो । पवित्र मानिएको गाईको दूध, दही, घिउ, मक्खन अनि गाईको गहुँत र गोबर लिपपोत गरेर चोख्याउने पनि गर्न थालियो । दूधको प्रयोग बालक, वृद्ध जस्का लागि पनि जुन बेलामा पनि गर्न सकिने किसिमको भयो । दही, घिउ बनाउने कुरो भने प्राकृतिक रुपबाट सिकेको हो । जस्तो दूध धेरै भयो र त्यसलाई त्यत्तिकै छोडिदिने हो भने जमेर दही बन्छ । त्यसपछि दूध धेरै भएपछि दही बनाउन सकिने रहेछ भनेर प्रकृतिबाट सिकेको हो । त्यस्तै, दूधमा रहेको चिल्लो पदार्थ तैरिँदा यस्को घिउ बन्ने रहेछ भन्ने कुराको ज्ञान भयो । यसको लागि पनि समय भने निकै लाग्यो । तर, बिस्तारै कौतुहल हुँदै मानिसले यो ज्ञान हासिल गरेको हो । 

यो गर्नका लागि पनि मान्छेलाई सयौँ वर्ष लागेको छ । पहिले जनावर सबै जङ्गली नै हुन । गाई अलि सोझो भएकोले मानिसले समातेर पाल्न थालेको हो । त्यसपछि गाईलाई मानिसले समाजसँग मात्र नभएर धर्मसँग पनि जोड्यो । र वैदिक समयमा दानको प्रसँग आउँदा पहिला गाईलाई नै ल्याइएको छ । वैदिक समयमा कोसँग कति गाई थियो त्यो धनी मानिन्थ्यो । गाईलाई गोधनको रुपमा हेरिन्थ्यो । कोही मान्छे कतै बसाइँसराइ गर्यो भने उसले लिएर जाने एउटा मात्र चिज भनेको गाई हुन्थ्यो । 

मानिसले जब गुफाबाट बाहिर निस्केर कृषि गर्नुपर्छ भनेर जान्यो, देख्यो त्यो समयदेखि गाई पाल्न थालेको हो । किनकि कुनै कुरो रोपेपछि त्यसको फल लिनको लागि पनि कम्तीमा पाँच/छ महिना कुर्नुपर्ने भयो । अनि बालीका लागि मल, दूधका लागि गाई पाल्न थालेको हो । त्यसपछि पाल्न थालेको भनेको घोडा हो । घोडा चढेर एक ठाउँबाट अर्को ठाउँमा जान सिकेपछि उसको जीवनमा ठूलो परिवर्तन आयो । व्यापार गर्न थाल्यो ।

प्रयोगसँगै परिष्कृत परिकार 

मानिसले उब्जाउ गर्न थालेपछि तिलको खेती भयो । तिलबाट तेल आउँछ भन्ने थाहा पाएपछि मानिसको पकवानमा धेरै परिवर्तन भयो । अनि यसलाई पनि लगेर धर्मसँग जोडियो । खानेकुरामा चामल, गहुँ चोखो भए जस्तै तिल एकदमै चोखो मानिन्छ । यज्ञ, होम गर्दा वा अरु कुनै अनुष्ठान गर्दा तिल चढाउने गरिन्छ । चामल, जौ र तिल मिश्रण गरेर बनाइने चरु धार्मिक हिसाबमा पवित्र मानिन्छ । देवी, देउतालाई चढाउने कारणले तिल पवित्र मानियो भने माघ महिनामा तिल दानको ठूलो महात्म्य पनि छ । भगवानलाई चढाउने बत्ती पनि तिलमा भिजाएको बत्ती पवित्र मानिन्छ । तिल स्वादिष्ट तथा पौष्टिक पनि भएको हुनाले यसलाई विभिन्न परिकारको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । स्वादिष्ट, पौष्टिक तथा पवित्र भएको कारणले माघमा यानेकि माघे सङ्क्रान्तिमा लड्डुको रुपमा यसको प्रयोग गरिन्छ । 

मानिसले अनाजको उत्पादन गर्न थालेपछि गहुँ र चामलको विभिन्न प्रयोगहरु भए । धानबाट सिधै चामल र त्यसपछि चामलको पीठोको प्रयोग हुन थाल्यो । हामीकहाँ मिठो चिज लामो समय राख्नका लागि तेल, घिउमा पकाउने गरिन्छ । अनि स्वादिष्ट बनाउनका लागि त्यसमा गुलियो कुरा हाल्न थालियो । चाहे त्यो चामलको पीठो होस वा गहुँको पीठो होस् । लामो समय रहनका लागि र स्वादिष्ट परिकारका लागि पीठो अनि गुलियो कुरा हालेर घिउमा लामो समय पकाउने गर्न थलियो । यसो गर्दा लामो समय पनि रहने भयो । यसरी यी कुराहरु विस्तारै उसले गृहस्थ आश्रममा सिक्दै आएको कुरा हो ।

मानिस शुरुमा मांसहारी हो । सनातन धर्ममा बलीप्रथाको कुरालाई अनिवार्य मानिएको छ । बली चढाइसकेको कुरालाई पहिला नैवेद्यको रुपमा चढाइन्छ । चढाएको नैवेद्य प्रसादको रुपमा ग्रहण गरिन्छ । तर, मानिसहरुले पछि के विश्लेषण गर्यो भने हामी आफू चाहिँ बाँच्ने तर, अरु निरीह प्राणीलाई मार्न हुँदैन भनेर ‘अहिंसा परमोधर्म’ भने । पछि व्यवसाय अनुसारको कार्य विभाजन भएपछि ब्राह्मणको लागि यो उत्तम होइन अरु जातिको लागि उत्तम हो र प्रमुख भोजन हो भन्ने भयो । 

खिचडीको कुरा गर्दा हामी मौसम अनुसार पनि खाने गर्छौँ । पुस, माघ खानेकुरा एकदमै पच्ने समयमा पर्छ । मीन पचासको जाडो जसमा माछालाई पनि जाडो हुन्छ भन्ने प्रचलन छ र त्यो बेलामा खाएको बढी पच्छ भन्ने हाम्रो विश्वास पनि छ । यो समयमा ऊर्जा पनि दिने र बढी पच्ने भएकोले खिचडी खाने चलन भएको हो । भात र दाल खाँदा बेग्लाबेग्लै पकाइन्छ । तर, जब यी दुई चिजको मात्रा मिलाएर पकाइन्छ र त्यसमा घिउ पनि मिसाउँदा ऊर्जा पनि दिने र पच्ने पनि भएका कारण यसको प्रयोग भएको हो । मासको दाल, चामल अनि घिउ पनि हालेको गरिष्ट भोजन जसले शरीरमा लामो समय ऊर्जा प्रदान गर्ने कारणले पनि माघे सङ्क्रान्तिमा खिचडी खाने चलन भएको हो । खिचडी पनि भगवानलाई चढाउने चलन पनि छ ।

कन्दमूल, तिल, घिउ, खिचडी आदि यही बेलामा किन भन्दा यो मौसम अनुसार पनि भएको हो । अर्को भनेको जाडोको समयमा बढी पच्ने भएका कारण पनि यसबेला ऊर्जा दिने र मौसम अनुसार फल्ने र हाम्रो स्वास्थ्य विज्ञानसँग सम्बन्धित भएको हुनाले माघे सङ्क्रान्तिमा जोडेर राखिएको हो ।

(संस्कृतिविद पौडेलसँगको कुराकानीमा आधारित)

माघे सङ्क्रान्तिमा खाने परिकारका सांस्कृतिक र वैज्ञानिक महत्त्व समेटिएको कार्यक्रम बदलिँदो नेपाल सुन्नुहोस् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विणा पौडेल

डा. पौडेल संस्कृतिविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया