अफगानिस्तानविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने

 माघ १३, २०८० शनिबार ६:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे । अफगानिस्तानका फरिदून दाउदजाईले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो ।

अफगानिस्तानका मोहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए । नेपाल समूह ’डी’ मा तेस्रो हुँदै ‘सुपर सिक्स’मा पुगेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आउँदो बुधवार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल तेस्रो पटक १९ वर्षमुनिको विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० र बंगलादेशमा २००२ मा भएको १९ वर्षमुनिको विश्वकपमा पनि नेपाल दोस्रो चरण पुगेको थियो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेर ऐतिहासिक सफलता पाएको छ ।

नेपालले १९ वर्षमुनिको विश्वकपमा टेष्ट राष्ट्रलाई हराएको यो आठौँ अवसर हो । यसअघि नेपालले सन् २००२ मा पाकिस्तान र बंगलादेशलाई, २००४ मा दक्षिण अफ्रिकालाई, २००६ मा दक्षिण अफ्रिका र न्युजिल्याण्डलाई, २००८ मा जिम्बाबेलाई र २०१६ मा न्युजिल्याण्डलाई हराएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया