बाग्लुङमा हचुवाका भरमा खनिएका ग्रामीण सडकका कारण विनाश बढ्दै

 फागुन १३, २०८० आइतबार १८:१०:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – बाग्लुङमा हचुवाका भरमा खनिएका ग्रामीण सडकका कारण प्राकृतिक विनाश बढ्न थालेको छ । पछिल्लो समय भइरहेका धेरैजसो दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण जथाभाबी खनेका सडक बनेका छन् ।

भुजीखोलामा गएको बाढी होस् या कुशीसेरामा गएको पहिरो होस् यी सबैको कारण ग्रामीण सडक रहेको पाइएको छ । भू तथा जलाधार कार्यालय पर्वतले दिएको तथ्याङ्कमा बाग्लुङमा तीन वर्ष यतामात्रै एक दर्जनभन्दा धेरै बाढी पहिराेको प्रमुख कारण हचुवाको भरमा खनिएका सडक भएको उल्लेख छ । विकासका गतिविधिमध्ये झन्डै तीन दशकदेखि ग्रामीण सडक खन्ने अभियान शुरु भएकाेमा अहिले घरघरमा सडक पुर्‍याउने होडका कारण भूक्षयले क्षति भइरहेको पाइएको हो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले नागरिकको सहजता र समृद्धिका लागि खनिएका सडकले नै जनजीवन बरबाद पारिरहेको र सडकले तत्कालै मात्र नभएर दीर्घकालीनरूपमा असर पुर्‍याएको बताउनुभयो । उहाँले अब सडक खन्न बन्द गर्नुपर्ने अवस्था आएको आफूहरूको निष्कर्ष रहेको बताउनुभयो ।

सडकले बाढी पहिरो मात्रै निम्त्याएको छैन वन–जङ्गल, रुखबिरुवाको पनि विनाश भएको छ । बाढी पहिरोले खेतीयोग्य जमिन बगर, उर्बराविहीन र क्षतिग्रस्त बनेका कारण उत्पादनमा समय ह्रास भएको स्थानीयवासी किसान तुल्सीराम आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया