काठमाण्डाै उपत्यकामा दैनिक २६ करोड लिटर पानी वितरण हुँदा पनि अभाव कायमै

मेलम्चीको पानीले पाइप फुट्दा ठाउँ–ठाउँका सडकमा भ्वाङ

 फागुन १७, २०८० बिहिबार १८:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले काठमाण्डौ उपत्यकामा दैनिक २६ करोड लिटर पानी वितरण भइरहेको दाबी गरे पनि पानीको अभाव कायमै छ । मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर र काठमाण्डौको स्थानीय स्रोतबाट दैनिक नौ करोड लिटर गरेर २६ करोड लिटर पानी वितरण भइरहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिडेट (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले उज्यालोलाई जानकारी दिनुभयो । तर पनि काठमाण्डौमा पानीको चरम अभाव छ ।

धेरै नागरिकलाई ट्याङ्कर र जारको पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले मेलम्ची खोलामा याङ्ग्री र लार्के खोलाको थप ३४ करोड लिटर मिसाएर दैनिक ५१ करोड लिटर पानी काठमाण्डौ ल्याउने र माग धान्ने योजना बनाएको छ तर अर्बाैँ रुपैयाँका यी आयोजनाको थालनी कहिले हुने हो भन्ने नै यकिन छैन ।

मेलम्चीकै पानी पनि हिउँदमा मात्रै काठमाण्डौमा आउँछ, बर्खामा बन्द हुन्छ । बर्खामा बाढी पहिरोका कारण पानी बन्द गर्दै आएको सरकारले यो वर्ष गएको माघको १ गतेदेखि हिउँदयामका लागि पानी पुनः वितरणको काम थालेको थियो ।

शुरुमा अनामनगर र मीनभवनमा वितरण गरिएको थियो । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, कीर्तिपुर, बोडे, नयाँ बानेश्वर, अनामनगर, बालाजु, खुमलटार, बोडे र पानीपोखरीबाट वितरण भइरहेको खानेपानी लिमिटेडले जनाएको छ । भौगोलिक अवस्था र पुरानो पाइपको सञ्जाल भएकाले सबैतिर समान तरिकाले वितरण गर्न समस्या भइरहेको प्रवक्ता राईले बताउनुभयो ।

कतिपय ठाउँमा नयाँ पाइपको परीक्षण चलिरेहकाले पुरानो पाइपबाटै पानी वितरण भइरहेको छ । ठाउँ–ठाउँमा नयाँ पाइप परीक्षणको काम भइरहेको छ । तर मेलम्चीको बाढीले मुहान क्षेत्र तहसनहस पारेकाले अबको केही महिनाभित्रै अर्थात् बर्खा लागेपछि मेलम्चीको पानी काठमाण्डौ आउन बन्द हुनेछ । पोहोर–परार जस्तै यस पटकको हिउँदमा पनि गेग्रान मात्रै हटाएर काठमाण्डौमा पानी पठाइएको र बर्खा लाग्नासाथ बन्द गर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पाइप फुट्दा ठाउँ-ठाउँमा सडक बिग्रिए

मेलम्चीको खानेपानी वितरण गर्ने सिलसिलामा पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा सडक बिग्रेका छन् । सबैभन्दा धेरै जमलबाट बूढानीलकण्ठ, लैनचौरबाट बालाजु र रातो पुल क्षेत्रमा सडक बिग्रेको छ । अन्य धेरै ठाउँमा सडकमा पाइप फुटेर पानी बग्ने, खाल्डा पर्ने लगायतका समस्या देखिएका छन् ।

पाइप मर्मतका लागि सडक खन्दा केयूकेएलले स्वीकृति लिए पनि आफूहरूले भनेअनुसार काम नगर्दा समस्या भएको सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर अर्जुन अर्यालले जानकारी दिनुभयो । पानी वितरण गर्ने पाइप पुरानो भएको र त्यसबाट हुने चुहावटले सडकमा समस्या पारेको छ उहाँको भनाइ छ ।

सडक खनेको हप्ता/दश दिनमै सडक मर्मत गर्दै आएको इन्जिनियर अर्यालले दाबी गर्नुभयो । यसै बेला नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत आयोजनाले पनि ठाउँ–ठाउँमा सडक खनेपछि काठमाण्डौ उपत्यकाका सडक फेरि अस्तव्यस्त हुन थालेका छन् । एउटा निकायले सडक खनेको केही दिनमै मर्मत गर्ने र फेरि अर्को निकायले सडक खन्दा नागरिकलाई सास्ती र बजेटको दुरुपयोग भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया