राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै

 फागुन २०, २०८० आइतबार ९:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आजदेखि सकिँदैछ । आज पदावधि सकिनेमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी यादव पनि रहेका छन् । सांसद पदबाट हटेसँगै राज्यमन्त्री पद रिक्त हुन लागेको हो ।

मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि आजैदेखि पदावधि सकिँदैछ ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदैछ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा चुनाव भैसकेको छ । ती सांसदहरूको भोलि शपथग्रहण हुनेछ । बाँकी एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नुहुनेछ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।

५९ सदस्य रहने राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाँचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसद्को हैसियतमा हुनुहुन्छ । त्यस्तै राष्ट्रपतिबाट एक सिट मनोनीत हुँदा गठबन्धनबीच यो सिट जनमोर्चालाई दिने सहमति छ ।

यसैबीच राष्ट्रिय सभाको अध्यक्षका लागि प्रमुख दुई दल माओवादी र कांग्रेसबीच रस्साकस्सी छ । उनीहरुले एक–अर्कामाथि दबाब बनाउने रणनीति लिएका छन् । माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । यसअघि कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने चर्चा हुँदै आएको थियो । राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ मा गर्ने तयारी छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया