कांग्रेस र माओवादीबीचको असमझदारीले गठबन्धन सङ्कटमा, नयाँ समीकरणको गृहकार्य

 फागुन २१, २०८० सोमबार ७:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको छ । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो ।

कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थाल्नुभएको छ । माओवादीसँगको गठबन्धन जोगाउन कांग्रेसले पनि पहल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

यही बीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डकाे हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो । तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणका लागि छलफल बढाउनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ । सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने तयारी गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया