नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
इलाम – ‘चिन्ता छैन केही, मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही,’ पशुपति शर्माको यो गीत इलाम बरबोटेका सागरनाथ दाहालको जीवनमा ठ्याक्कै मेल खान्छ । विदेश पुगेर पाइन्छ भनेर सुनेको खुशी उहाँले आफ्नै खेतबारीमा खोजिरहनुभएको छ ।
घरमाथि बारीमा अम्रिसो र घर मुनी अलैंचीका बोटको घारी नै छ । आलु रोप्ने सिजन भएकाले बारीभरि हरिया भएका छन् आलुका बोटहरु पनि ।
अलैंची र अम्रिसो मात्रै होइन, उहाँ अदुवा र सिजनका अनुसारका तरकारी पनि लगाउनुहुन्छ । सागरनाथले दुईवटा गाई पनि पाल्नुभएको छ ।
गोठ, खेतबारी र बजार पुग्ने काम आफैं भ्याउनुहुन्छ । खेतबारी र पाखा पखेरा हरियाली भएपछि घरमा किन सुख्खा लाग्थ्यो र ! बाटोमाथि झाँगिएको अम्रिसोझैं ढकमक्क फुलेको छ सागरनाथको घर पनि।
हिजोआज जमाना बदलियो । युवाहरु गाउँघरमा खेतबारी बाँझो राखेर कमाउन परदेश लाग्न थाले । तर सागरनाथले जमानासँगै आफू र आफ्नो बाटो बदल्नु भएन । उहाँले खेतीपातीलाई नै आफ्नो जीविकोपार्जनको बाटो बनाउनुभयो । तर बदल्नुभयो, हिँड्ने तरिका ।
आफ्नै गाउँमा, आफ्नै खेतबारी खनीखोस्री गरेर पनि खुशी जीवन बिताइरहनुभएको छ सागरनाथ ।
सागरनाथका बुवा सरकारी जागिरे । बुवाको बाटो समात्नुपर्ने अदृश्य दबाब थियो सागरनाथलाई । तर आमाको मृत्युपछि सागरनाथलाई नसोचेको भयो ।
कुरा २०४९ सालको हो । १० कक्षामा पढ्दै हुनुहुन्थ्यो सागरनाथ । पढेर फलामे ढोका पार गर्ने बेलामा उहाँलाई मातृशोकले कमजोर बनायो । एक त आमाको मृत्यु हुनु । अनि घरमा जिम्मेवारी सम्हाल्ने कोही पनि नहुनु । सागरनाथले फलामे ढोका पार गरेर अघि बढ्न पाउनुभएन ।
‘आमा बितेपछि घरमा कोही भएनन्, दिदीहरुको पनि बिहे भैसकेको थियो, घर व्यवहार नै आफूले चलाउनुपर्ने बाध्यतामा परें, पढ्न पाइनँ,’ सागनाथले आफ्नो बाध्यता सुनाउनुभयो ।
आमाले धानेको संसारको जिम्मा उहाँको काँधमा आइलाग्यो । ‘आमा बितेपछि मेरा धेरै सपना आमासँगै बिलाए, तर मैले आमाले जमाएको संसारलाई अघि बढाएँ, खेतीपाती गरें, गाईवस्तु पालें,’ सागरनाथले गर्वका साथ सुनाउनुभयो, ‘मलाई अहिले यी कुरामा पछुतो छैन, म यही कुरामा नै सन्तुष्ट छु ।’
आफूसँग भएको कुरामा चित्त बुझाउन सक्नुपर्छ । नत्र जीवनमा मिलेका हरेक सफलताको स्वाद खल्लो हुन्छ । सागरनाथको जीवनमा यही सत्यले साथ दियो ।
पढाइ छुट्यो । आमाको साथ छुट्यो, तर छुटेन सागरनाथको जीवनको लय । त्यो बेला सँगैका दौंतरी कमाउन लाखापाखा लागेको देख्दा आफू पनि जान पाएको भए हुन्थ्योझैं त उहाँलाई पनि लाग्थ्यो ।
घाँस, दाउरा गरेर भन्दा पनि शहर पसेर सुकिलो जीवन जिउने रहर कताकता पलाएका थिए सागरनाथको मनमा पनि । गाउँका कति विदेश गए त कतिले देशकै बिभिन्न शहर पसेर प्रगति गरे ।
तर उहाँको काँधमा घर सम्हाल्नुपर्ने जिम्मेवारी थियो । त्यसमाथि ६ दिदीपछिका एक्लो छोरा भएकाले उहाँलाई घर छाडेर हिँड्न परिवारले दिएनन् ।
‘म त घरको एक्लो छोरा, विदेश गयो भने मर्छ कि, हराँउछ कि भन्ने चिन्ता भयो, त्यो बेला बुवाआमाकै चिन्ताले विदेशको बाटो छेक्यो,’ सागरनाथ भन्नुहुन्छ, ‘अहिले त ठिकै भयो जस्तो लाग्छ, खेतीपाती हुनेले किन जानु अर्काको देशमा दुःख गर्न, जहाँ गए पनि गर्नुपर्ने दुःखै हो ।’ आफूसँग भएकै कुरामा खुशी हुन सक्ने बानीले नै सागरनाथलाई खेतबारीमा रम्न सिकायो ।
२०५३ सालमा बिहे भयो । खेतबारीमा पाखुरा बजार्ने हात र साथ थपियो । दुवै मिलेर पौरख गरे आफ्नै पाखोबारीमा ।
‘बिहेअघि पनि खेतीपाती त गर्थें, तर व्यवसायिक हिसाबले होइन, बिहे भएपछि बालबच्चा भए, हामीले सल्लाह गरेर काम गर्न थाल्यौं, घर चलाउन सजिलो हुन थाल्यो,’ सागरनाथ व्यवसायिक रुपमा खेती थाल्दाका दिन सम्झनुहुन्छ ।
मलिलो बारीमा मौसम अनुसारमा तरकारी, रुखो पाखोमा अम्रिसो, अनि ओसिलो र रसिलो ठाउँमा अलैंची र अदुवा खेती गर्नुभयो । आफ्नै बारीमा यी काम गरेपछि सागरनाथका दिन पानी परेपछिको आकाश जस्तै खुल्न थाले ।
उदाएको घाम दैलोमा पर्नुअघि नै सुरु हुन्छ लक्ष्मी र सागरनाथ दाहालको दैनिकी । बिहान ६ बज्दा नबज्दै उठिसक्नुहुन्छ । सागरनाथ र लक्ष्मीको आ– आफ्नै काम छ । सागरनाथ गाई दुहुने र दूध बेच्न लैजाने काम गर्नुहुन्छ भने लक्ष्मीले बिहानी घरधन्दा गर्नुहुन्छ ।
खाना खाएपछि गर्ने काम सधै एकैखालको हुँदैन उहाँहरुको । मौसम अनुसारको हुन्छ । तरकारीको मौसममा तरकारीको काम हुन्छ भने अदुवा वा अलैंचीको सिजनमा अदुवा र अलैंचीको ।
‘यहाँ त आनन्दै छ, अल्छी लाग्दा काम गर्दिन दिनभरी आराम गर्छु भन्दा पनि भयो, आफ्नो काम हो जहिले जसरी गर्दा पनि हुन्छ’ सागरनाथ काममा हतार गर्नुहुन्न । हरेक काम दुवैले मिलेर गर्नुहुन्छ ।
खान र लगाउन दुःख छैन । खेतीपाती मात्रै गरे पनि घर चलाउन ऋण काढ्नु परेको छै्रन । मौसमका बेला बारीभरि तरकारी फल्छन् ।
राम्रो उत्पादन गर्न सके अलैंचीबाट राम्रो आम्दानी पनि हुन्छ । झण्डै २० रोपनी पाखोमा अम्रिसो लगाउनु भएको छ । अम्रिसोबाट किसानलाई निकै फाइदा छ भन्नुहुन्छ सागरनाथ ।
‘अम्रिसोको फूल बेच्दा राम्रो पैसा आउँछ, गाईवस्तुलाई घाँस पनि राम्रो हुन्छ अनि खोले पकाउन दाउरा पनि,’ सागरनाथ अम्रिसोको काइदाबारे सुनाउनुहुन्छ ।
बिंप्ल्याटे बजार उहाँको घरबाट टाढा छैन । आफ्नो उत्पादन बजारमा ल्याएर बेच्न उहाँलाई बिचौलियाको भर पर्न पनि पदैंन । तर अलैंची र अदुवा बेच्न भने बिचौलियाकै भर पर्नु पर्छ ।
खेतीपाती गर्दा दुःख नहुने हैन । घामपानी भन्न पाईंदैन । सागरनाथ भन्नुहुन्छ – ‘खेतीपाती भनेको मानो रोपेर मुरी उब्जाउने कर्म हो । मानोबाट मुरी फलाउनका लागि आइपर्ने दुःख मलाई दुःख जस्तो नै लाग्दैन ।’
उत्पादन गर्नेदेखि बजारसम्म पुऱ्याउने काममा आफैं खट्नुहुन्छ उहाँ । दैनिक १८ घण्टा खट्नु पर्छ ।
‘म दिनको १८ घण्टा काम गर्छु, नत्र त कहाँ हुन्छ र, सकेसम्म आफ्नो काम आफैं गरौं भन्ने लाग्छ मलाई त,’ सागरनाथ भन्नुहुन्छ, ‘आफ्नो बारीमा तरकारी फलाएर बेच्न मलाई त लाज लाग्दैन, मान्छेहरु त डोकोमा तरकारी बेच्न लाज मान्नेहरु पनि हुन्छन् ।’
सागरनाथका हरेक पाइलामा सहयोग छ श्रीमती लक्ष्मी दाहालको । लक्ष्मीलाई लाग्छ साथ हुने हो भने हरेक कुरामा सफलता हासिल गर्न सकिन्छ ।
‘जे काम गरे पनि, जहाँ गएर गरे पनि एक्लै त के गर्न सकिन्छ र, मिलेर गर्दा हो जे कुरामा पनि सफल भइने,’ आफ्नो उदाहरण दिँदै लक्ष्मी भन्नुहुन्छ, ‘हामीले शहरमा घर घडेरी जोडेनौं होला, तर खेतीपातीबाटै आफ्नो हातमुख जोरेका छौं, दुईचार पैसा बचाएका पनि छौं, यो भन्दा बढी के चाहियो र।’
भनिन्छ नि कामले नै काम सिकाउँछ । हो दाहाल दम्पतीलाई पनि कामले नै काम सिकायो । कुनै बेला उहाँहरु आफूलाई खान मात्र तरकारी लगाउनुहुन्थ्यो । तर काम गर्दै जाँदा व्यवसायिक रुपमा गर्नुभयो । बारीमा दुईचार बोट अलैंची थिए । अहिले अलैंची खेती पनि व्यवसायिक रुपमा गर्न थाल्नुभयो ।
‘अहिले त गाउँमा जे गरे पनि पैसा नै पैसा छ, तर काम गर्न चाहिँ सक्नुपर्छ,’ लक्ष्मी हाँस्दै भन्नुहुन्छ । तर एक्कै पटक धेरै कमाउँछु भन्ने सोच चाहिँ त्याग्नु पर्छ।
तलब हात पार्न महिनाभरी कुर्न पर्दैन । न कसैको खटनपटन, न कसैको हेपाइ । ज्यान सुकिलो नहोला । तर मन हलुको हुन्छ भन्नुहुन्छ लक्ष्मी ।
स्वदेशमा होस् या विदेशमा ठाउँ जहाँ भए पनि पैसा कमाउन गर्नुपर्ने दुःख फरक छैनन् । हिँड्दै जाँदा सधैं समथर र फराकिलो बाटो मात्र भेटिन्छन् भन्ने हुँदैन । तर उकाली ओरालीमा आफ्नाको साथ छ भने जस्तोसुकै अप्ठ्यारा पनि सहजै पार गर्न सकिन्छ ।
खेतीपाती गर्दा पनि बेलाबेला बिभिन्न समस्या भोग्नु पर्छ । कहिलेकाहीँ दुःख गर्दा पनि बजार भाउ पाईंदैन । कहिले बिचौलीयाले किसानको पसिनामा खेलिदिन्छन् ।
‘पोहोर साल अदुवा लगाए राम्रो भाउ नपाएर साह्रै घाटा भयो, अब योपालि भने राम्रो भाउ छ, तर के गर्नु फेरि बीचमा चललेख हुन्छ,’ सागरनाथ बजारका समस्या सुनाउनुहुन्छ । तर सधैं यस्तो समस्या भोग्नु पर्दैन ।
मौसम अनुसारका तरकारी खेती, अलैंची, अदुवा र दुईवटा गाई उहाँको आम्दानीका मुख्य स्रोत हुन् । यहीँबाट भएको आम्दानीले दुई सन्तान पढाउनेदेखि घर खर्चसम्म पुऱ्याउनुहुन्छ । सबै खर्च कटाएर वार्षिक एकलाख ५० हजार रुपैयाँसम्म बचत पनि गर्नुहुन्छ सागरनाथ ।
गर्मीयाममा सागरनाथले कुखरापालन पनि गर्नुहुन्छ । यो वर्षदेखि पोखरी खनेर माछा पालन गर्ने उहाँको योजना छ ।
‘अर्काको देशमा जस्तो पनि काम गर्ने अनि आफ्नो ठाउँमा चाहिँ हिरो बन्नुपर्ने बानीले पनि धेरैलाई बिर्गाछ,’ सागरनाथ भन्नुहुन्छ, ‘आफ्नै ठाउँमा दुःख गर्ने हो भने केही नभए पनि कसरत हुन्छ, रोगी भईंदैन ।’
सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे भइसक्यो । कान्छी छोरी १२ कक्षामा र छोरा ४ कक्षामा पढ्दै छन् ।
आमाको मृत्युले सागरनाथको पढाइ रोकियो । पढीलेखी बुवाझैं सरकारी जागिरे बन्न पाउनु भएन । साथीभाइझैं शहर पसेर रहरलाग्दा जागिर पनि खान सक्नुभएन । तर जीवनमा अरु जस्तै बन्न नपाएकोमा उहाँलाई पछुतो छैन । अरु जस्तै बन्न नसके पनि आफ्नै गाउँठाउँमा कर्म गरेर रम्न सकेकोमा उहाँलाई गर्व छ ।
त्यसैले पशुपति शर्माले गीतमा भने झैं सागरनाथ भन्नुहुन्छ, ‘चिन्ता छैन केही, मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही ।’
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।