पत्रिका पसलमा नेता पत्रकारका चुनावी गफ !

 असार ९, २०८१ आइतबार १४:६:८ | मिलन तिमिल्सिना
unn.prixa.net

चुनाव होला कि नहोला भन्ने दोमनको भार बोकेर हिँडेका दुई नेता पत्रकारको पत्रिका पसलमा भेट भयो । दुवैले पत्रिका पसलेलाई नमस्कार गरे ।

‘ओहो हजुर नमस्कार । कुन पत्रिका दिउँ होला ?’ पसलेले सोधे ।

‘आफ्नै पत्रिका त हेरिन्नँ, अर्काको पत्रिका कसले हेर्ने होला ? हामी पत्रिका हेर्न आएका हैनौँ, भोट माग्न आएको ।’

‘भोट रे ! फेरि चुनाव आयो र भन्या ? अलि पहिले मध्यावधि हुन्छ त भन्थे, साँच्चै हुन लाग्या हो र भन्या ? कि मिसन ०८४ मा हिँड्नुभएको हो ?’

‘यसपालि दलको चुनावमा हिँड्या हैन क्या, हाम्रै चुनाव हुन आँट्या छ ।’

‘ए पत्रकार महासङ्घको चुनाव ? चुनाव त सारेको सार्‍यै छ भन्ने पो सुन्या थिएँ त ।’ 

‘सर्दा सर्दै असारमा पुगेपछि थप सार्न नसक्ने भयो । यही असारमा होलाजस्तो छ ।’

‘असार भन्या नसार त हैन नि हजुर ? असारको अ झिकेपछि यसै पनि सार । सार्नै मिल्ने महिनामा तोकिएको चुनाव गर्नैपर्छ भन्ने के छ र ? सारे भैहाल्यो नि !’

‘हामीले भन्याजस्तो भएन भने सर्न पनि सक्छ । तर नसर्न पनि सक्छ । त्यही भएर भोट माग्न आएको ।’

‘ए भनेपछि दाइलाई भेट्न आउनुभएको रैछ । पत्रकारको सदस्यता त दाइसँग मात्रै छ । यसपालि शुद्धीकरण कि के छ, नाम काट्छन् होला भन्नुहुन्थ्यो । खै कुन नेतालाई भन्न लगाएर काटिएन रे । मैले त सदस्यता लिन भ्याइसकेको छैन ।’

‘ए दाइ पो हो ? कता जानुभयो त दाइ ?’

‘अहिले बाहिर जानुभएको छ, पार्टीको बैठकमा बोलाएका छन् रे ।’

‘अनि दाइ कुन पत्रिका चलाउनुहुन्छ रे ? कि अनलाइनतिर हो ?’

‘दाइले त सबैजसो पत्रिका चलाउनुहुन्छ । यहाँ पत्रिका पसलमा थरीथरीका पत्रिका आइरहन्छन् । दिनभरि पसलमा बसेपछि सबै पत्रिका चलाइरहनुपर्छ ।  अनि अनलाइन त चौबीसै घण्टा बस्नुहुन्छ । यी हेर्नुस् त, अहिले पनि फेसबुकमा अनलाइनमै हुनुहुन्छ ।’ 

‘अनि महासङ्घको सदस्य चाहिँ कसरी हुनुभएछ त ?’

‘पत्रिका बेच्ने काम गर्दागर्दै पत्रिका छाप्ने, लेख्ने, बोक्ने सबैसँग भेट भयो । पत्रकारका नेताहरूसँग पनि चिनजान भयो । हामीलाई भोट दिने हो भने सदस्य बनाउँछौँ भन्नुभएछ । अनि दाइले पाइहाल्नुभयो नि ।’

‘ए ल अब अर्कोपटक तपाईँले पनि लिनुपर्छ । तपाईँले समाचार त लेख्नुहुन्न नि ?’

‘पत्रिकामा चाहिँ लेख्दिनँ । फेसबुक स्टाटस चाहिँ मज्जाले लेख्छु ।’

‘पत्रिकामा लेख्नुहुन्न भने त तपाईँ सदस्यता बन्न योग्य भैहाल्नु भयो नि ! दिनभरि पत्रिकामा बसेर काम गर्ने मान्छे त समाचार नलेखे पनि पत्रकार । त्यसमाथि फेसबुकमा लेख्नुहुँदो रहेछ । तपाईँको सदस्यता अर्कोपटक पक्का । दाइ कुन बेला आउनुहुन्छ त खै ?’

‘एकछिनमा आउनुहोला । दाइ नआउँदासम्म मैसित कुरा गरौँ न । तपाईँहरू चाहिँ कुन पार्टीको उम्मेदवार नि ?’

‘म चाहिँ पार्टीको होइन, स्वतन्त्र ।’

‘अँ उहाँ अघिल्लोपटक पार्टीको हुनुहुन्थ्यो, यसपटक स्वतन्त्र । म पोहोर स्वतन्त्र थिएँ, यसपालि पार्टीको ।’

‘भनेपछि पोहोर तपाईँलाई पार्टीले टिकट दिएन त्यसैले तपाईँ स्वतन्त्र । यसपालि उहाँलाई पार्टीले टिकट नदिने भयो, त्यसैले उहाँ स्वतन्त्र ।’

‘हो हो ठ्याक्कै त्यही हो, तपाईँले मिलाउनुभयो, पत्रकार महासङ्घको सदस्यता लिन योग्य हुनुहुँदो रहेछ’ दुवै एकैसाथ मन खोलेर हाँसे ।

‘अनि यसपटक तालमेल हुन्छ कि हुँदैन नि ?’

‘तालमेलभन्दा पनि बेमेल चाहिँ होलाजस्तो छ । पार्टीको गठबन्धन नै अर्को भयो । त्यति बेला तालमेल भएकासँग अहिले बेमेल, त्यति बेला बेमेल भएकासँग अहिले तालमेल होलाजस्तो छ ।’

‘अनि तपाईँहरूको चुनावी एजेन्डा के छ नि ?’

‘धेरै छन् । श्रमजीवी पत्रकारको हक, हित र अधिकारका लागि हामीले गर्नुपर्ने जति सबैथोक गर्छौँ । पत्रकारलाई काम र दामका लागि खबरदारी गर्छौँ । दबाब दिन्छौँ । अन्याय र अत्याचारको विरुद्धमा लड्छौँ । कुनै पनि पत्रकारलाई खाली हात बस्न नपर्ने वातावरण सिर्जना गर्छौँ ।

‘श्रमजीवी भनेको के हो नि ?’

‘श्रम गरेर जीविका चलाउने पत्रकारलाई श्रमजीवी पत्रकार भनिन्छ ।’

‘किसान, मजदुर अनि अरू श्रमजीवीलाई त एकछिन फुर्सद हुँदैन । तपाईँहलाई त फुर्सदै फुर्सद देखिन्छ । श्रम चाहिँ कुन बेला गर्न भ्याउनुहुन्छ नि ?’

‘फुर्सद मिलाएर गर्छौँ । अनि हामी सबैले उसैगरी श्रम गर्नु पर्दैन । कसैले श्रम गर्छौँ, कसैले गफ गर्छौँ ।’

‘दलाली, ठेकेदारी, दुई नम्बरी धन्दा गर्नेह पनि आफूलाई पत्रकार भन्छन् रे । कति पत्रकारको त त्यस्ता मान्छेहसँग हिमचिम र सम्बन्ध पनि हुन्छ रे । यो कुरो चाहिँ कत्तिको सत्य हो ?’

‘अब तपाईँले त हामीले जस्तो अन्तर्वार्ता पो लिन थाल्नुभयो । हेर्नुहोस् पहिलो कुरा त यो हाम्रो पार्टी आच्या हामी पत्रकारलाई बदनाम गर्ने आधारहीन, झुटो हल्ला हो । हामीसँग त्यस्ता मान्छे छैनन् । भए पनि हामी सच्याएर लैजानेछौँ ।’

‘पत्रकार र पत्रकारिता क्षेत्रका लागि मात्रै होइन, मैले चुनाव जितेँ भने आमनागरिकका माग र आवश्यकतासमेत पूरा गर्नेछु’ सँगै रहेका अर्का नेता पत्रकारले थपे ।

‘तपाईँहरू दुवैसँग पत्रकारको हकहितसँगै आमनागरिकको चासो र सरोकारका मुद्दा हल गर्ने क्षमता भएको भए अहिलेसम्म किन नगर्नुभएको त ?’ पत्रिका पसलेले जिज्ञासा राखे ।

‘यी सबै गर्न त ठाउँमा पुग्नुपर्छ नि ? चुनाव जित्नुपर्छ’ प्रतिस्पर्धी एक पत्रकारले भने ।

‘अनि एकपटक त तपाईँले चुनाव जित्नुभएको होइन र ?’ अर्का प्रतिस्पर्धी पत्रकारले प्रश्न गरे ।

‘एकपटक मात्रै जितेर हुन्छ । फेरि फेरि जित्नुपर्छ ।’

‘तर यसपालि मैले जित्नुपर्छ ।’

‘हैन स्वतन्त्रले जित्नुपर्छ ।’

‘पुरानै गठबन्धनले जित्नुपर्छ ।’

‘हैन नयाँ गठबन्धनले जित्नुपर्छ ।’

‘व्यावसायिक र प्यानलवालाले जित्नुपर्छ ।’

भोट माग्न गएका दुवै उम्मेदवारले एकअर्कालाई चोर औँला ठड्याउँदै लम्कीझम्की गर्न थालेपछि दुवैको गोजीबाट पार्टी सदस्यता भएको कार्ड भुइँमा झर्यो । हत्तपत्त कार्ड टिपेर यताउता हेर्दै उनीहरू बाटो लागे ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया