४ देखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल

 असार २८, २०८१ शुक्रबार १८:१६:५३ | रासस
unn.prixa.net

तस्बिर : रासस

कास्की – गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) मा ४ देखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर) तयार गर्दै सङ्घले ४ देखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

जथाभाबी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरेको अध्यक्ष गुरुङले बताउनुभो । यहाँको संस्कार, संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी यस पदमार्गको प्रवर्द्धन र विकासका लागि पहल थालिएको उहाँको भनाइ छ ।

गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीशहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङले बताउनुभयो । याे पदमार्गमा पदयात्रा गर्न चाहने स्वदेशी एवम् विदेशी पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयको सहयोगमा ब्रोसर तयार गरिएको बताउँदै उहाँले पर्यटकको इच्छा र समयअनुसार पदयात्रा गर्न सक्नेगरी विभिन्न १३ वटा आइटिनरी तय गरिएको जानकारी दिनुभयो ।

सङ्घले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा गएकाे जेठ २१ देखि ३० गतेसम्म यस क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवम् प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको थियो । नक्साङ्कनसँगै पदयात्रा पर्यटनको विकासका लागि आवश्यक विषयको अध्ययन एवम् अनुसन्धानसमेत गरिएको गुरुङले बताउनुभयो ।

गुरुङ समुदायको मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ अघि बढाउन लागिएको यो पदमार्गले परापूर्वकालमा भोटमा नुन लिन जाने संस्कृतिलाई पनि जीवन्त राख्ने विश्वास लिइएको सङ्घका महासचिव तुल गुरुङले बताउनुभयो । कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका रूपमा चासो र चर्चा कमाएको थियो ।

पदमार्गमार्फत माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरबासलाई जोड्ने सङ्घको योजना छ । पदमार्गले पसगाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरबासलाई पनि जोड्ने छ ।

पदमार्गको नक्साङ्कन कार्य भइरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले चालू आर्थिक वर्षभित्रमा नक्साङ्कन कार्यलाई पूर्णता दिइसक्ने योजना रहेकोे जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया