ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण

 साउन १२, २०८१ शनिबार ८:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण भेटिएको छ । ललितपुरमा सात र कैलालीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो भने कैलालीमै थप दुई जनामा पनि सङ्क्रमणको आशङ्का गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिनुभयो । थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, तर यसको पुष्टि हुन भने बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमुना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।

नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र सङ्घीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने/गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो ।

यस्तै ललितपुरमा थप तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । यसअघि ललितपुरमा चार जनामा सङ्क्रमण भेटिएकोमा थप तीन जनामा पनि सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उनीहरुको टेकु र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया