दीक्षित भएर फर्केपछि दिक्क !

 पुष १४, २०८१ आइतबार १२:४६:२८ | मिलन तिमिल्सिना
unn.prixa.net

टाउकोभन्दा ठूलो छत्रे टोपी । ज्यानभन्दा लामो गाउन । पानी परेको भए टोपीले छाताको काम गर्थ्याे, गाउनले रेनकोटको । तर बादल मात्रै लाग्यो, पानी परेन । पानी नपरेपछि हातको प्रमाणपत्र भिज्ने डर पनि भएन ।

वरपर आफूजस्तै मान्छे । उस्तै टोपी र गाउनले आफू र अर्को छुट्याउन पनि मुश्किल । फुरफुर भएर बसेका १४ हजारको भीडमा छिर्दा आफ्नो नाक पनि ठूलो भयो । मन त्यसै गदगद । बुरुक्क उफ्रँदै छमछम नाचौँजस्तो । यस्तो झिल्के लुगा लगाएको बेला नउफ्रे कहिले उफ्रने ? अहिले ननाचे कहिले नाच्ने ? साथीहरूको तालमा छत्रे टोपी माथितिर फ्याँकेर बुरुक्क उफ्रँदा आकाश छोएजस्तै भयो । हातमा प्रमाणपत्र बोकेर गाउन फरर बनाउँदै छमछमी नाचेको फोटो र भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटकमा राखेपछि भएभरका सपना एकसाथ पूरा भएजस्तै सन्तुष्टि मिल्यो । फोटो र भिडियोमा टन्नै लाइक र कमेन्ट देखेपछि यतिका वर्ष पढेको बल्ल काम लागेजस्तो भयो ।

दीक्षित हुँदाको रमझममा बस्दासम्म पढेर पास भएको र प्रमाणपत्र हात परेकोमा मात्रै ध्यान केन्द्रित थियो, रमाइलै भयो । दीक्षान्तबाट फर्केपछि रमझम र रमाइलोको मात्रा घट्न थाल्यो । दीक्षित हुँदैमा र प्रमाणपत्र हात पर्दैमा जागिर पाइँदैन । जागिर पाइयो भने पनि पैसा पाइँदैन । देशमै अवसर छ भनेर दङ्ग परे पनि अवसर आफैं खोज्दै आउँदैन । अवसर पर्खँदापर्खँदै विदेश भौँतारिनुपर्छ । पहिले दीक्षित भएर यसैगरी दिग्दार भएका साथीहरूको याद आयो ।

एक जना साथीले राम्रै अङ्क ल्याएर पास गर्‍याे । पढाइमा खप्पिस । लोक सेवाको परीक्षामा सफल नभए पनि कलेजको परीक्षामा सधैँ पास । पास भएको प्रमाणपत्र बोकेर दीक्षित हुँदा ऊ पनि खुशीले गदगद थियो । सरकारी जागिर नभएर के भो त, यत्रो पढेलेखेको मान्छेले कुनै न कुनै निजी कार्यालयमा काम पाइहाल्छ नि भनेर प्रमाणपत्र बोकेर ठाउँठाउँमा भौँतारियो । बल्लबल्ल एउटा कार्यालयमा पढाइअनुसारको पदमा आवेदन दिने मौका मिल्यो । दङ्ग पर्दै अन्तर्वार्ता दिन गयो । अन्तर्वार्ता लिनेले ओल्टाइपल्टाइ प्रमाणपत्र हेरे । प्रश्नहरू सोधे । तर आफ्नो कार्यालयमा चाहिएअनुसार योग्यता नपुगेको भन्दै फर्काइदिए । अर्को ठाउँमा पनि त्यसै गरे । पढ्न त पढेको हो, पास पनि भएको हो । तर किताबमा पढेको र घोकेको कुरा व्यवहारमा कतैकतै मात्र मिल्दो रहेछ । धेरैतिर काम एकातिर, पढाइ अर्कोतिर । दीक्षान्त समारोहमा छत्रे टोपी लगाएर उहिल्यै फोटो खिचेको त्यो साथी अझै प्रमाणपत्र बोकेर काम खोज्दैछ ।

ऊसँगै दीक्षित भएका दुई जना साथीमध्ये एक जना लोक सेवा पास गरेर सरकारी जागिर खाँदैछ । अर्को चाहिँ प्राइभेटमा काम गर्छ । सरकारी जागिरे भन्छ, ‘जागिर त पाइयो यार तर तलबले पुग्दैन । यताउता, तलमाथि, दायाँबायाँ गर्न जानिएन भने त चोखो तलबले पेट पाल्न पनि मुश्किल छ ।’ प्राइभेटमा काम गर्ने साथी भन्छ, ‘जागिर त राम्रै हो यार तर बेलामा तलब पाइँदैन । कोभिड अघिसम्म त ठिकै थियो । त्यसपछि न तलबको ठेगान छ, न कामको ।’

उ बेलै दीक्षित भएर छत्रे टोपी ढल्काएको अर्को साथी चाहिँ अहिले विदेशमा भाँडा र भुइँ टल्काउँछ । दीक्षित हुने बेला उसले पनि भनेको थियो, ‘देशमै अवसर छ, विदेश गइँदैन ।’ यति भनेर गजक्क परेर बसेको साथीलाई अवसरले खोज्दै आएन । अवसरले आफूलाई नखोजेपछि ऊ अवसर खोज्न हिँड्यो । ‘सर नमस्कार, मेडम नमस्कार’ भन्दै चारतिर चाहार्‍याे । कसैले पढाइ त रैछ तर अनुभव रैनछ भन्दै फर्काइदिए । कसैले पढाइ भएर के गर्नु, हामीलाई चाहिएकोजस्तो ज्ञान र सीप हुनुपर्‍याे नि भन्दै लोप्पा खुवाइदिए । कसैले जागिर त दिन सकिन्छ तर तलब चाहिँ त्यस्तै हो भनेर टारिदिए । सबैतिरबाट धोका पाएपछि उसले आफैं केही गर्छु भन्ने आँट गर्‍याे । सरकारले प्रमाणपत्र धितो राखेर ऋण पाइन्छ भनेको थियो । तर ऋण पाउनै गाह्रो । कसैले धितो भएन भने । कसैले विश्वसनीय योजना खै भनेर सोधे । आफैंले काम गर्ने योजना त कलेजमा पढेको भए पो दिने ! जागिर खान र पास हुनका लागि पढियो । आफैं स्वरोजगार हुने योजना न कलेजले पढायो, न आफैंले पढियो ! त्यसपछि प्रमाणपत्र दराजमा थन्काएर विदेश हानिएको साथी बेलाबेला भन्ने गर्छ, ‘विदेशमा पनि पैसा फल्ने रुख त हुँदो रहेनछ यार । तै पनि उता भाँडा माझ्न लाज लाग्थ्यो, यहाँ लाग्दो रहनेछ । विदेशमा टन्न कमाउनेहरू पनि छन्, दुःख पाउनेहरू पनि ।’

उ बेला दीक्षित भएका साथीहरूको हविगत सम्झेर दिक्क भइरहँदा दीक्षान्त समारोहबाट सँगै फर्किएकी बहिनीले मोबाइल देखाउँदै भनिन्, ‘दाइ हेर त तेरो फोटोमा भन्दा मेरो फोटोमा लाइक र कमेन्ट कति धेरै !’

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया