‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना हुने, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ डलर पुर्‍याउने लक्ष्य

 पुष १५, २०८१ सोमबार १५:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना हुने भएको छ ।

पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो ।

भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय गठन गरिसकेको गाउँपालिकाका अध्यक्ष मुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । सचिवालयमा होटल सङ्घ, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य सङ्घ, होमस्टे महङ्संघलगायतको प्रतिनिधित्व रहेको उहाँले जानकारी दिनुभयो । पर्यटक आगमनको सङ्ख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

सचिवालय संयोजक पर्यटन बैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ । भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएको र आउँदो तीन वर्षमा वार्षिक आठ लाख जना पर्यटकलाई बन्दीपुर पुर्‍याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाउने, विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याउने लक्ष्य छ ।

अहिले बन्दीपुरमा मात्रै ७५ वटा होटल र चार वटा होमस्टे छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । भ्रमण वर्ष सफल पार्न चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया