सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला ट...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – चितवनको सिमलतालमा भएकाे बस दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनले आउँदा दिनमा गाडी दुर्घटना न्यूनीकरण गर्न विभिन्न निकायले गर्नुपर्ने कार्यको सुझाव दिएको छ । सङ्घीय सरकारले अहिले विश्वमा प्रयोगमा आएका रिमोटबाट सञ्चालन हुने गाडी, पानीमुनि प्रयोग हुने ड्रोन, पानीमुनिको वस्तु समात्न सक्ने उपकरण, पानी नछिर्ने अर्थात् 'वाटरप्रूफ' मेटल डिटेक्टर, पानीमुनिको वस्तु पत्ता लगाउने म्याग्नेटोमिटर, पानीमुनि पनि हेर्न मिल्ने सेन्सर क्यामरा, मोटर र्याफ्टिङ, दुर्घटनापछि गाडीका पाटपूर्जा खोल्न सक्ने औजार अर्थात् 'कम्बी' उपकरण र पानीभित्रको प्रकाशमा प्रयोग हुने उपकरण अर्थात् 'अन्डर वाटर लाइटेनिङ' जस्ता आधुनिक उपकरणको चाँडै व्यवस्थापन गरी प्रयोगमा ल्याउन प्रतिवेदनमा सुझाव दिइएको छ ।
यस्तै राजमार्ग क्षेत्रमा सडक सुरक्षासम्बन्धी पूर्वसूचना प्रणाली स्थापना गर्न भनिएको छ । गाडी चालकलाई विपद् जोखिमसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने, ट्राफिक प्रहरीको जनशक्ति थप्नुपर्ने सुझावमा उल्लेख छ । मौसम विज्ञान विभागले 'रेड अलर्ट' जारी गर्ने र कुरिनटारमा रहेकाे सशस्त्र प्रहरी बलकाे विपद् व्यवस्थापन शिक्षालयलाई साधन स्रोत उपलब्ध गराई पर्याप्त जनशक्ति तयार पार्न कार्यदलले सुझाव दिएको छ ।
यसैगरी नयाँ सडक सुरक्षा ऐनको तर्जुमा गर्ने र राष्ट्रिय सडक सुरक्षा परिषद्को स्थापना गर्न भनिएको छ । जोखिमपूर्ण सडक छेउमा बार लगाउने र सडकका विभिन्न ठाउँमा गाडी मर्मत गर्ने वर्कशपको गुणस्तर सुनिश्चितताका लागि प्रमाणीकरणको व्यवस्था गर्न कार्यदलको सुझाव छ । साथै जोखिमयुक्त र महत्त्वपूर्ण ठाउँमा सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतको व्यवस्था गर्नुपर्ने भनिएको छ ।
यस्तै ट्राफिक नियम उल्लङ्घनको जाँच गर्न र गाडीको उच्च चाप भएका ठाउँमा आधुनिक प्रविधि जडान गर्न पनि कार्यदलको सुझावमा उल्लेख छ । त्रिशूली नदीमा पानी सफा भएको बेला अहिलेसम्म हराएका गाडीको खोजी र नदीको पिँधको नक्सा तयार गर्न सशस्त्र प्रहरीको गोताखोर टोलीलाई खटाउन पनि भनिएको छ ।
सङ्घीय सरकारले मात्र नभई प्रदेश सरकारले पनि सम्भावित दुर्घटनाबाट जोगाउन विभिन्न कार्य गर्न सक्ने प्रतिवदेनमा उल्लेख छ । कार्यदलको सुझावअनुसार प्रदेश सरकारले गाडीको परीक्षण अनिवार्य गर्ने, गाडीको तेस्राे पक्षको बीमा अनिवार्य गर्ने/गराउने, केन्द्र र पालिकासँग समन्वय गरी रुट इजाजत जारी गर्ने र पुराना गाडीको लगत कट्टा गर्नुपर्छ ।
यसैगरी पालिकाले पनि सम्भावित दुर्घटनाबाट जोगाउन प्राविधिक मापदण्ड, वातावरणीय अध्ययन तथा उचित इन्जिनियरिङका आधारमा मात्र ग्रामीण सडक निर्माण गर्नसक्ने प्रतिवेदनमा उल्लेख छ । पालिकास्तरीय यातायात गुरुयोजनाअनुसार सडक विस्तार गर्ने र सडक सुरक्षाको विषय विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न कार्यदलको सुझावमा भनिएको छ ।
त्यस्तै गाडी दुर्घटना कम गर्न सञ्चारकर्मी र नागरिक समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ । कार्यदलको सुझावअनुसार सञ्चारकर्मीले गाडी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा पैरवी गर्ने र लेख रचना प्रकाशन गर्ने तथा सुरक्षित रूपमा गाडी चलाउनेबारे प्रचारप्रसार गर्नुपर्छ । साथै सडक दुर्घटनासम्बन्धी तथ्यपरक समाचार सम्प्रेषण गर्न भनिएको छ । ‘सडक अवरुद्ध भएको र खुलेको बेला छिटै जानकारी दिने काम सञ्चारमाध्यमले दिनुपर्छ । यस्तै जाँड–रक्सी खाएर गाडी नचलाउन सडक नाटकमार्फत सन्देश दिने लगायतका कार्य गनुपर्छ’, प्रतिवेदनमा भनिएकाे छ । नागरिक समाजले सडक सुरक्षा र ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गर्न कार्यदलको सुझाव छ ।
कार्यदलको प्रतिवेदनमा गएकाे असार २८ गते बिहान साढे ३ बजे चितवनको सिमलतालमा भएकाे बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको छ ।
असार २८ गते काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको बाग्मती प्रदेश ०३–०००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस लेदोसहितको पहिरोले त्रिशूली नदीमा खसालेको थियो । त्यस्तै वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्सको बस पनि त्रिशूलीमा खसेर बेपत्ता भएको छ । बससँगै बेपत्ता भएका ६२ यात्रुमध्ये २४ जनाको शव भेटिए पनि ३८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । बाँकीको खोजी कार्य चलिरहेको कार्यदलका संयोजक छवि रिजालले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।