वैकल्पिक मार्गबाट दिक्तेल–काठमाण्डौ बस सञ्चालन हुने

 असोज १६, २०८१ बुधबार ६:५२:४२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।

बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाण्डौ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा आजदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन हुने भएको हो ।

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

दिक्तेलबाट काठमाण्डौ तथा काठमाण्डौदेखि दिक्तेलसम्मको एकतर्फी भाडाप्रति व्यक्ति  दुई हजार पाँच सय रुपैयाँ तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौ पुग्नका लागि दिक्तेल–घुर्मी–खुर्कोट– काठमाण्डौ भन्दा दोब्बर लामो हुने जनाइएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक भने, दशैँ, तिहार तथा छठ पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिवार दिउँसो आएको बाढीले सुनकोसीमा रहेको फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोध भने हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमवार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएसँगै दिक्तेल–घुर्मी–कटारी हुँदै विराटनगरसम्मको बस मङ्गलवारदेखि नियमित रुपमा सञ्चालन गरिएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको अवरोध हटाउनेबारे अध्ययन गर्न प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’नेतृत्वको टोली चखेवा पुगेको छ । 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया