साफ च्याम्पियनशिपमा यस पटक विजेता बन्छाैँ : कप्तान एञ्जिला

 असोज ३०, २०८१ बुधबार १८:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनशिपमा विजेता बन्ने लक्ष्य रहेको बताएकी छिन् ।

नेपालले तेस्रो पटक महिला साफ च्याम्पियनशिपको आयोजना गर्दैछ । भोलिदेखि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीकी कप्तान तथा गोलकिपर सुब्बाले विजेता बन्ने लक्ष्य रहेको बताएकी हुन् । सबै टोली मेहनत गरेर विजेता बन्नकै लागि आए पनि यस पटक आफ्नो टोली सन्तुलित र बलियो रहेको उनको विश्वास छ ।

साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने पर्सि भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

तस्वीर : कप्तान एञ्जिलाकाे फेसबुकबाट

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया