अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीकाे अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । तीन वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १ सय ६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीन वटै आयोजनाबाट उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतमा रहेकाे प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।
१४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाटको साञ्जेन र १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गएकाे वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा बिजुली उत्पादन गरी अहिलेसम्म झन्डै ३० करोड रुपैयाँको बिजुली बिक्री गरिसकेको छ । ४२ दशमलव ५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा बिजुली उत्पादन शुरू गरिएको छ ।
साञ्जेन–२
१ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई अहिले परीक्षणका रूपमा बिजुली उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू हुनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा बिजुली उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट हिउँदयाममा झन्डै ८० मेगावाट मात्र बिजुली उत्पादन हुन्छ ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा २ सय ७० मेगावाटका चार वटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।
सबै आयोजनाहरू २०७२ सालको भूकम्प एवम् बाढी, पहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँचमार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९ महामारी, कोभिड–१९ पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाहरूको निर्माण प्रभावित भएको थियो ।
साञ्जेन–३
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । ‘म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएका बेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चार वटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रूपमा नियन्त्रणबाहिरको परिस्थितिका कारण आयोजनाहरूको निर्माणमा केही समय लागे पनि अब तीन वटा आयोजनाको निर्माण सम्पन्न भई बिजुली उत्पादन शुरू भएको छ, बढी बिजुली माग हुने काठमाण्डाै उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो । आयोजनाको प्रवर्द्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत ९ अर्ब २० करोड रुपैयाँ हुने अनुमान गरिएको बताउनुभयो । सीईओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गर्नुभयो । चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो ।
कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९ दशमलव ३६ प्रतिशत, प्राधिकरणको १० दशमलव ३६ प्रतिशत, रसुवाका पालिकाकाे १ दशमलव २८ प्रतिशत संस्थापक शेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरू (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित पालिका) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारी, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण शेयर छ ।
माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रूपमा १ अर्ब ८० करोड युनिट बिजुली उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई बिजुलकाे बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । याे पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी हिउँदयामका साँझको समयमा विद्युत् माग प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सीईओ सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।