आज विश्व ध्यान दिवस मनाइँदै

 पुष ६, २०८१ शनिबार ६:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ ।

प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।

दिवसको अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घको विशेष कार्यक्रम आज अमेरिकाको न्यूर्याेकमा आयोजना हुँदैछ । कार्यक्रमको प्रमुख वक्ता डा.टोनी नादर हुनुहुन्छ । उहाँ हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानको संस्थाका विश्वव्यापी प्रमुख हुनुहुन्छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनका अनुसार कार्यक्रममा विश्वभरिका ध्यानीहरूले नेपाली समयअनुसार बिहान ८ बजेर ४५ मिनेटदेखि बेलुकी र ५ बजेर ४५ मिनेटसम्म ध्यान गर्नेछन् ।

यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको फाउन्डेसनका अध्यक्ष एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया