कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री ओली

 पुष २९, २०८१ सोमबार १४:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दल फुटाउने र मिलाउने काम आफूले नगर्ने बताउनुभएको छ । ओलीले राजनीतिक दलसम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उहाँले स्पष्ट गर्नुभयो ।

ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले देश विकास र नागरिकका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिश गरेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसकाे विरोध भयो भन्ने झुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिनुभयो । जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्‍याे भनेर सम्प्रेषण गरिएको सुनाउँदै उहाँले देश र नागरिकको पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया