प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकहरूलाई विभिन्न जातीय समुदायको पोशाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।
अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्मणलगायत जातजातिको पोशाक लगाएर तस्वीर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोशाक भाडामा लगाएर स्थानीयवासीले आम्दानी गर्न थालेका हुन् ।
स्थानीय रामकृष्ण पुनले एक जोडा पोशाक एक घण्टा प्रयोग गरेबापत २ सयदेखि ३५० रुपैयाँसम्म लिने गरेको बताउनुभयो । रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोशाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोशाक पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको भीड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
रत्नेचाैरमा दैनिक ३ सयदेखि ५ सय जना पर्यटक आउने गरेका स्थानीय कुशल शर्माले बताउनुभयो । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।