नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – 'ट्राभल अपरेटर्स फर टाइगर' (टफ्ट टाइगर) ले होटल बाराही काठमाण्डाैलाई 'इको फुटप्रिन्ट' प्रमाणपत्र प्रदान गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको उल्लेख गर्दै 'टफ्ट टाइगर' ले बाराही काठमाण्डाैलाई प्रमाणपत्र प्रदान गरेकाे हाे ।
विभिन्न मापदण्डमा आधारित भई गरिएको मूल्याङ्कपछि होटलले 'इकाे फुटप्रिन्ट' प्रमाणपत्र प्राप्त गरेको बाराही होटलका महाप्रबन्धक रोशन सापकोटाले बताउनुभयो । उहाँका अनुसार 'टफ्ट टाइगर' ले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगस्टसम्मका लागि 'आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर' का रूपमा होटललाई प्रमाणपत्र प्रदान गरेको हो ।
'टफ्ट टाइगर' ले 'इको फुटप्रिन्ट रेटिङ' मा चार वटा मापदण्ड समावेश गरेको थियो । 'रेटिङ' मा होटलको वातावरणीय प्रभावलाई माध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्ड अनुरूप नै भएको उल्लेख गरेको छ ।
होटलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैँ चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवम् प्रतिनिधिले बाराही होटलको उदाहरणीय अभ्यासलाई सिङ्गो होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले होटलहरूले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल ट्राभल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यस प्रकारको अभ्यास सामान्य जीवनयापनमा लागू गर्न सबै जना सचेत हुनुपर्नेमा जोड दिनुभयाे ।
होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाण्डाैले दिगो विकासमा दिएको योगदानमा खुशी व्यक्त गर्दै सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताउनुभयो ।
स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने विश्वास व्यक्त गर्नुभयो ।
'टफ्ट टाइगर' को चार मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत वातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतमा होटलले गरेको गतिविधिलाई आधार मानेको थियो । पानीको संरक्षण, सदुपयोग, फोहर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षा मापदण्डका साथै आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, स्थानीय सीप र खानाको प्रवर्द्धन रहेको छ । साथै सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवर्द्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।
मूल्याङ्कनका क्रममा फोहर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानूनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवर्द्धन, अपाङ्गता भएका व्यक्तिहरूको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, मन्दिर सरसफाइ शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि मूल्याङ्कनमा समावेश गरिएको संस्थाले जनाएको छ ।
बाराही 'हस्पिटालिटी' अन्तर्गत रहेको होटल बाराही काठमाण्डाै सन् २०२३ जुलाईदेखि सञ्चालनमा आएको हो । बाराही काठमाण्डाै होटलले भर्खरै 'साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४' बाट नयाँ होटलका रूपमा दक्षिण एशियामा सर्वोत्कृष्ट प्राप्त गरेको छ । साथै नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डानुसार 'ए' श्रेणी प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।