टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
म्याग्दी – रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताउनुभएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहनुभएको छ । उहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ ।
१२ वर्षअघि झन्डै ३ रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताउनुभयो । ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र ३ वर्ष दुबईमा काम गरेँ तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भन्नुभयो ।
केही वर्ष अघिसम्म दोसल्लेका धेरैजसाे मानिस परिवारका लागि रोजगारी गर्न विदेश जानुपर्ने बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका धेरैजसाे परिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन् । कुल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यस वर्ष सुन्तलाबाट १ करोड ६० लाख रुपैयाँभन्दा धेरै भित्रिएको छ ।
पोखरा र काठमाण्डाैका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँ को सुन्तला बिक्री भएकोमा यस वर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिनुभयो ।
‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’, पाइजाले भन्नुभयो ।
उहाँका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । विसं २०६८ मा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटले समेत फल दिन शुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक ३ करोड रुपैयाँभन्दा धेरै रकम भित्रिने स्थानीयवासीको अनुमान छ ।
दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला राेपेका छन् । विभिन्न पेशा, व्यवसायमा लागेका समेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आउनुभएका विकास श्रेष्ठले समेत दोसल्लेमा व्यावसायिक सुन्तलाखेती गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले समेत सुन्तला खेतीलाई विस्तार गर्नुभएको छ ।
खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत झन्डै १३ वर्षदेखि सुन्तलाखेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्वुजाले बताउनुभयो ।
‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुश्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ’, गर्बुजाले भन्नुभयो ।
सुन्तला गाउँका रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेवासीको मुहारमा खुशी र जीवनमा सन्तुष्टि छाएको छ । गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालनलगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ ।
सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिक खेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।
म्याग्दीमा ८ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा ४ सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि १ सय २० रुपैयाँसम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।