संसद्को माघ महिनाको कार्यतालिका तयार, शुरूकै दिन अध्यादेशहरू पेश गर्ने तयारी

 माघ १४, २०८१ सोमबार १८:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माघ १८ गते अर्थात् आउँदो शुक्रवारदेखि शुरू हुने संसद् अधिवेशन अन्तर्गत माघ महिनाको कार्यतालिका तयार भएको छ । आज सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरूका प्रमुख सचेतक/सचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो ।

कार्यतालिका अनुसार १८ गतेपछि २२, २३ र २४ गते संसद्को बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८ २९ र ३० गते पुनः संसद्को बैठक बस्नेछ ।

संसद् अधिवेशन हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले सम्बोधन गर्नेगरी तालिका छ । त्यस्तै संसद्को पहिलो दिन नै सबै अध्यादेश पेश हुने बर्तौलाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकार सदनप्रति उत्तरदायी नभएको महसूस आफूहरूले गरिरहेको बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याएको दाबी गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्था सुधार गर्नका लागि अध्यादेशमार्फत २९ वटा कानून परिवर्तन गरेको जिकिर गर्नुभयो । उहाँले संसद्को हिउँदे अधिवेशनमा सरकारले सदनलाई बिजनेस दिने कुरामा दृढ रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया