धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव शुरू

 माघ २५, २०८१ शुक्रबार १५:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनुषामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव शुरू भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषासँगको समन्वयमा शुरू भएको दुई दिने उत्सव मिथिला बिहारी नगरपालिका वडा नम्बर २ र ३ मा भइरहेको छ ।

प्रकृति संरक्षणमा लाटोकोसेरोको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले उत्सव आयोजना गरेको प्रकृतिका साथीहरू नामक संस्थाका महासचिव एवम् चराविद् कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४९ प्रजातिका चरा अवलोकनसँगै उत्सव शुरू भएकाे छ ।

उत्सवमा लाटोकोसेरोको विशेष रोबोट, अस्थायी सङ्ग्रहालय र आठ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने तथा भिडियो हेर्ने व्यवस्था छ । वन्यजन्तु अनुसन्धानकर्ता र वातावरण संरक्षणका विशेषज्ञले चरा संरक्षण, तस्करी नियन्त्रण र पर्यावरणीय सन्तुलनका विषयमा जानकारी प्रस्तुत गर्नेछन् ।

यस्तै मिथिलाको सांस्कृतिक झल्को दिने नाचगान, स्थानीय लोपोन्मुख खेलकुद प्रदर्शनी, रैथाने परिकारको बिक्री/वितरण र हस्तकलाका सामग्री प्रदर्शन गरिएका छन् । स्थानीय उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि पनि राखिएका छन् ।

प्रकृतिका साथीका निर्देशक राजु आचार्यले एक मौसममा झन्डै तीन हजार मुसा खाने लाटोकोसेरो किसानको सच्चा साथी भएको बताउनुभयो । लाटोकोसेरोले किरा फट्याङ्ग्रा, सर्प र भ्यागुता नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

अहिले नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छ । तीमध्ये आठ प्रजाति दुर्लभ मानिन्छन् । नेपालबाट वार्षिक दुई हजारभन्दा धेरै लाटोकोसेरोको अवैध तस्करी हुने गरेको संरक्षणकर्मीहरूको अनुमान छ । यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा लाटोकोसेरो उत्सव सम्पन्न भइसकेको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया