पाथिभरा केबलकारले धार्मिक आस्था खल्बलाउने नभइ पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल

 माघ २६, २०८१ शनिबार १७:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमणडौ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाण्डौमा पत्रकार सम्मलेन गर्दै उहाँले यस अघि तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनुभयो ।

ताप्लेजुङभन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको विरोध गरिरहेका ढकालको भनाइ छ । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्वपूर्ण रहेको ढकालले बताउनुभयो ।

ताप्लेजुङवासीलाई रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि दाबी गर्नुभएको छ । सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्दै उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको बताउनुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको भन्दै उहाँले भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो ।

केबलकारले कुन पनि हिसाबमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनुभयो । अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताउनुभयो । पाथीभरा केबलकारको लागत अनुमान झन्डै तीन अर्ब रुपैयाँको रहेको भन्दै उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनुभयो ।

पाथिभरामा केबलकार बनाउने कामको विरोध गर्दै स्थानीय लिम्बु समुदायले अबरोध गरेपछि पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.ले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेको हो ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया